तपाईँ सुन्दै हुनुहुन्छः

मतदानको लागि उम्मेदवारसँग लिखित प्रतिबद्धता माग

दोलखा । दोलखाको दुर्गम ठाडी र नाङ्मा गाउँमा अहिले कच्ची सडक पुगेकोले केही सहज बने पनि भीर ताछेर बनाइएको सडक बर्षायाममा सञ्चालन नहुने भएकाले दुःख धेरै घट्न नसकेको स्थानीयको गुनासो छ ।

केही भएकै छैन भन्ने अवस्था त होइन, ठाडीका स्थानीय रामसिंह तामाङ भन्नुहुन्छ, “कच्ची नै भए पनि सडक बनेकोले केही सहज छ, तर कच्ची सडकमा वर्षा लागेपछि यातायात सञ्चालन नहुने भएकाले धेरै राम्रो भयो भन्ने अवस्था बनेन ।”

दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ लामाबगरमा पर्ने ठाडी र नाङ्मामा झन्डै पाँच सय घरधुरी र १२ सय मतदाता रहेका छन् । यो गाउँमा एउटा निमावि स्कुल सञ्चालनमा रहेको भए पनि स्वास्थ्य चौकी भने छैन । ठाडी र नाङ्मामा आलु खेती, अलैँची खेती, बाख्रा पालन र थोरै मात्रामा गहुँ, कोदो, मकै खेती हुने गरेको छ । 

आलुको बिउँ, अलैँची, किवी र खसी– बोका बिक्री हुने गरे पनि त्यो उनीहरूको आवश्यकता पुरा गर्न पर्याप्त बनेको छैन । 

राजनीतिक दलका नेता र उम्मेदवारले चुनावको बेला आश्वासन बढ्ने भए पनि गाउँको विकासका लागि चासो नदिएको उनीहरूको गुनासो छ । गाउँको मुख्य समस्या सडक नै हो रामसिंहले भन्नुभयो, “कच्ची सडकलाई स्तरोन्नति गरेर हिउँद– वर्षा दुवै सिजनमा यातायात सञ्चालन गर्न सकिए ठाडी र नाङ्माका स्थानीयको मुहारमा खुसी देखिने छ ।”

पक्की सडकको अभाव र भएको कच्ची सडकमा समेत यातायात सञ्चालन नभएकोले सामान्य जरो आउँदा समेत सिटामोल लिन तीन घण्टा हिँडेर गाेंगर वा जगत पुग्नुपर्ने बाध्यता रहेको तत्कालीन लामाबगर गाविसका अध्यक्ष समेत हुर्कनुभएका ठाडीका स्थानीय रामबहादुर तामाङ बताउनुहुन्छ । “हिउँदमा त एक– दुई वटा बोलेर चल्ने भएकोले सात सय भाँडा तिरेरै पनि जगत वा गोंगरसम्म पुगेर औषधि र सरसामान ल्याउन सकिन्छ, वर्षा लागेपछि त त्यो पनि सम्भव हुँदैन”, ठाडीका अर्का स्थानीय सतमान तामाङले गुनासो गर्नुभयो । 

यी दुई गाउँका स्थानीयलाई नेता र उम्मेदवारको विश्वास लाग्न छाडेको छ । उहाँहरू आगामी निर्वाचनमा जुन उम्मेदवारले सडकको स्तरोन्नति, स्वास्थ्य संस्था स्थापना र कृषिमा लगानी गर्ने लिखित प्रतिबद्धता गर्छन् उसैलाई मत दिने बारेमा छलफल चलाइरहनुभएको छ । 

हामी दुई गाउँका मतदाताहरू साझा समस्या टिपोट गरिरहेका छौँ”, ”नाङ्माका स्थानीय सुब्बा तामाङले भन्नुभयो, “ती समस्याहरू पुरा गर्ने लिखित प्रतिबद्धता जसले गर्छन् उसैलाई मत दिन्छौँ ।” गाउँमा आलु खेती राम्रो हुने भएकोले चिस्यान केन्द्र र मल तथा विउविजन पनि नाङ्मा र ठाडीको आवश्यकता रहेको सुब्बाको भनाई छ । 

ठाडी र नाङ्मा दुवै गाउँमा थोरै युवाहरू मात्र रहेका छन् । धेरै युवाहरू विदेश गएको र केही युवाहरू माथिल्लो तामाकोसी लगायत उत्तरमा सञ्चालनमा रहेका जलविद्युत आयोजनामा काम गरिरहेको सुब्बा तामाङले बताउनुभयो । दलका नेताहरूले भन्दा धेरै त माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले सहयोग गरेको स्थानीय बत्ताउँछन् । 

पछिल्लो समय स्थानीय सरकार र प्रदेश सरकारले केही कामहरू गरेको तर गाउँको आवश्यकता अनुसार त्यो असाध्य कम रहेको ठाडीका सतमान तामाङले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button