तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु

वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज बिहान ९ः ४५ बजेदेखि लागू हुनेगरी महानगरको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गर्नुभएको हो ।

पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु जारी गरिएको जनाइएको छ। तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

कर्फ्यु लागू गरिएको क्षेत्रमा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्र रहेका छन्। उक्त सीमाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ पूर्ण रूपमा निषेध गरिएको छ।

यद्यपि, कर्फ्यु अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पूर्वनिर्धारित परीक्षामा सहभागी हुने परीक्षार्थी तथा कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकट भएका यात्रुलाई आवश्यक सहजीकरण गरिने प्रशासनले जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा नलाग्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। सुरक्षा अवस्था सामान्य नभएसम्म कर्फ्यु जारी रहने जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button