‘मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण’
कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

आज मुस्लिम आयोगको गत आर्थिक वर्ष २०८१/८२ को सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उहाँले अधिकार संरक्षणका लागि आयोगले थप भूमिका बढाउनुपर्ने बताउनुभयो ।
प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायका नागरिक क्रमिक रूपमा अधिकारसँग जोडिँदै गएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय आयोगले सञ्चालन गरेका गतिविधिहरू प्रशंसनीय छन् । प्रतिवेदनमा समेटिएका विषयबारे प्रदेशसभामा समेत छलफल हुन्छ । देखिएका समस्या समाधानमा प्रदेश सरकारले आवश्यक भूमिका खेल्छ ।”
प्रदेश प्रमुखसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । कार्यवाहक अध्यक्ष अलीले गत वर्ष सञ्चालन गरिएका कार्यक्रम र प्रभावबारे जानकारी गराउनुभएको थियो ।
प्रतिवेदनमा आयोगका गतिविधि, वार्षिक कार्यक्रम, समस्या तथा मुस्लिम समुदायसम्बन्धी तथ्याङ्क समावेश गरिएका छन् ।
रासस








प्रतिक्रिया राख्नुहोस्