निर्वाचनलाई लक्षित गर्दै पर्सामा नमुना मतदान सम्पन्न, मत बदर न्यूनीकरणमा जोड
वीरगञ्ज । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पर्सामा आज नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्सा र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा आज वीरगन्ज स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो ।
निर्वाचनका दिन मतदाता तथा कर्मचारीले अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया व्यवहारमै अभ्यास गराउने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विगतका निर्वाचनमा देखिएको मत बदरको समस्या न्यूनीकरण गर्नुका साथै मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी दुई छुट्टाछुट्टै मतपत्रमा छाप लगाउने तरिका सिकाइएको थियो । मतदाताले मतपत्र कसरी बुझ्ने, स्वस्तिक छाप कहाँ र कसरी लगाउने, गोप्य कक्षमा प्रवेश गर्दा ध्यान दिनुपर्ने विषय, मतपत्र मोड्ने तरिका तथा मतपेटिकामा सुरक्षित रूपमा खसाल्ने प्रक्रिया चरणबद्ध रूपमा अभ्यास गराइएको थियो ।
नमुना मतदानलाई वास्तविक निर्वाचनकै स्वरूप दिन महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै तीन लाइनको व्यवस्था गरिएको थियो । मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थितिमा वास्तविक मतदान जस्तै वातावरण सिर्जना गरिएको थियो ।
मतदानका क्रममा हुन सक्ने सम्भावित विवाद, मतपत्र च्यातिने वा बिग्रिने अवस्था, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा, लाइन व्यवस्थापन तथा सुरक्षा समन्वयजस्ता विषयमा पनि अभ्यास गराइएको थियो । साथै मतदान केन्द्रमा खटिने कर्मचारीहरूको जिम्मेवारी, भूमिकाविभाजन र आपसी समन्वयबारे समेत छलफल गरिएको थियो ।
कार्यक्रममा पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन नमुना मतदान अत्यन्त उपयोगी हुने बताउनुभयो । उहाँले मतदातालाई सही तरिकाले मतदान गर्न आग्रह गर्दै बदर मत न्यूनीकरणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा जिल्ला निर्वाचन कार्यालयकी प्रमुख अनामिका रौनियारले निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र विश्वसनीय बनाउन यस्ता अभ्यास कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै जिल्ला निर्वाचन कार्यालयले आगामी दिनमा पनि मतदाता शिक्षा तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल जिल्ला प्रहरी कार्यालय पर्साका सुरक्षा निकायका प्रमुखहरू,जिल्ला निर्वाचन कार्यालयकी प्रमुख अनामिका रौनियार सहित निर्वाचन अधिकृतहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्