तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा चुनावी सरगर्मी बढ्दो: उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा व्यस्त

'विगतका आश्वासन कार्यान्वयन नहुँदा मतदातामा शङ्का र निराशा'

बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बाजुरामा चुनावी सरगर्मी  बढेको छ। निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाका उम्मेदवारहरू मतदाता भेटघाट तथा घरदैलो अभियानमा व्यस्त रहनुभएको छ।

घरदैलोका क्रममा उम्मेदवारहरूले आफू निर्वाचित भएपछिका योजनासहित प्रतिबद्धता र बाचा पत्र सार्वजनिक गर्दै आएका छन्। ती पत्रहरूमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, रोजगारी सिर्जना र समग्र विकासलाई प्राथमिकता दिइएको छ। अधिकांश उम्मेदवारले विगतमा अधुरा रहेका योजनालाई पूरा गर्ने र नयाँ विकासका आधार तयार गर्ने प्रतिबद्धता जनाएका छन्। तर यस पटक, विगतका चुनावजस्तो सहज रूपमा मतदातालाई विश्वस्त पार्न उम्मेदवारहरूका लागि चुनौतीपूर्ण देखिएको छ।

पटक–पटक दोहोरिएका आश्वासनहरू व्यवहारमा कार्यान्वयन नभएको भन्दै मतदाता राजनीतिक दल र उम्मेदवारका प्रतिबद्धताप्रति शङ्कित बनेका छन्। बडिमालिका नगरपालिका–७ का स्थानीय धनबहादुर रोकायाका अनुसार-

“उम्मेदवार आउँछन्, जित्नका लागि आश्वासन बाँड्छन् र जितेपछि आफ्नै स्वार्थमा लाग्छन्। बारम्बार फकाउने कुरा मात्रै सुन्नु परेको छ, अब त सहजै विश्वास गर्न सकिने अवस्था छैन।”

विकासका नाममा चुनावी बेला धेरै कुरा सुनिए पनि कार्यान्वयन पक्ष फितलो हुँदा जनतामा निराशा बढेको मतदाताको भनाइ छ। सडक, स्वास्थ्य सेवा र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको गुनासो उम्मेदवारलाई स्थानीय मतदाताले गर्ने गरेका छन्।

यस पटक बाजुरामा एक जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न राजनीतिक दलका गरी ८ जना उम्मेदवार चुनावी मैदानमा छन्। चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा मतदाता भने ‘बाचा होइन, काम चाहियो’ भन्ने मनस्थितिमा देखिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button