तपाईँ सुन्दै हुनुहुन्छः

किवी खेतीले फेरियो इलामका गङ्गा विष्टको जीवन

धनकुटा । कोसी प्रदेशको पहाडी जिल्ला इलाम भन्ने बित्तिकै धेरैको मनमा हरिया चिया बगानको दृश्य खेल्छ । कुनै बेला पाँच ‘अ’ अर्थात् अलैँची, अदुवा, अकबरे, अम्लिसो र ओलन उत्पादनको हबको रूपमा चर्चा कमाएको इलाम हरित नगरीको रूपमा प्रख्यात जिल्ला हो । 

यहीँ इलामले पछिल्लो समय पूर्वी पहाडी जिल्लाहरूमा बहूगुणयुक्त किवी फल उत्पादनमा समेत अग्रणी भूमिका निर्वाह गरिरहेको छ । १७ वर्ष अघि पहिलोपल्ट इलाममा व्यावसायिक किवी खेती सुरुवात गर्ने कृषक मध्येका एक हुनुहुन्छ, इलाम नगरपालिका–१ साखेजुङ नेपालटारका अगुवा कृषक गङ्गा विष्ट । 

उहाँ १७ वर्ष अघि इलाममा पहिलोपल्ट व्यावसायिक किवी खेतीको सुरुवात गर्ने कृषक मध्येका एक हुनुहुन्छ । २०६५ सालमा काभ्रेपलाञ्चाेकबाट प्रतिबोट चार सय रुपैयाँका दरले दुई सय बोट बिरुवा ल्याएर २० रोपनी क्षेत्रफलमा लगाई विष्टले किवीको व्यावसायिक खेती सुरु गर्नुभएको हो । किवीको बिरुवा लगाएको तीन वर्षदेखि उत्पादन हुन थाले पनि बजारमा उपभोक्तालाई चिनाउन निकै कसरत गर्नुपरेको विष्ट बताउनुहुन्छ । 

राजधानी काठमाडौँ, पोखरा, चितवनसहित पूर्वी नेपालका विभिन्न बजारहरूमा सित्तैमा किवी चखाउँदै हिँड्नुभएका गङ्गाले अहिले भने किवी खेतीबाटै मनग्गे आर्थिक उपार्जन गरिरहनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय इलाममा वि.सं. २०७१ सालमा विष्ट किवी फर्म दर्ता गरेर उहाँले किवी खेतीलाई थप व्यवस्थित गर्दै अहिले ३० रोपनी क्षेत्रफलमा खेती विस्तार गर्नुभएको छ । 

उहाँले एक सिजनमा आठ हजारदेखि दश हजार केजी किवी उत्पादन गरेर वार्षिक १२ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । किवी फलको उत्पादनमा वृद्धि हुँदा केही समय बजारको समस्या समेत सामना गर्नुपर्‍यो । तर, अहिले भने भारतीय बजारमा समेत किवी निर्यात हुन थालेपछि बजारको समस्या हटेको उहाँले बताउनुभयो । 

धेरै मिहिनेत गरिरहनु नपर्ने, रोग किरा कम लाग्ने र एक÷दुई जनाले पनि गर्न सकिने लहरे प्रजातिको किवी खेतीमा थाङ्ग्रा लगाउँदा भने निकै खर्च हुने गर्दछ । आफ्नो किवी बगैँचामा फलामे थाङ्ग्रा लगाउँदा २० देखि २५ लाख रुपैयाँसम्म खर्च भए पनि दुई वर्षको उत्पादनले थाङ्ग्राको लगानी उठेको कृषक विष्टको भनाई छ । 

अगुवा किवी कृषक विष्टले इलाम सहित पूर्वी पहाडी जिल्लाहरूमा किवी फललाई चिनाउँदै किवी खेतीको विस्तारमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । स्वदेशमै केही गरौँ भनेर १७ वर्षदेखि निरन्तर किवी खेतीमा लागिरहनुभएका ४३ वर्षीय विष्ट नेपालमा सम्भावना छैन भन्ने युवाहरूका लागि एक गतिलो जवाफ बन्नुभएको छ । विष्टले कृषि ज्ञान केन्द्र, किवी जोन कार्यक्रम जस्ता विभिन्न निकायबाट अनुदान, प्राविधिक सहयोग र परामर्श सेवा समेत प्राप्त गर्दै आएको बताउनुभयो । 

विष्ट, किवी उत्पादकसँगै अहिले प्रशिक्षक बनेर विभिन्न जिल्लामा पुग्ने गर्नुभएको छ । सोही क्रममा कृषकहरूमा किवीको काँटछाँट लगायतका प्राविधिक विषयहरूमा समस्या देखिएकाले सरकारी तवरबाट कृषकलाई प्राविधिक ज्ञान, अत्याधुनिक चिस्यान केन्द्रको स्थापना, बजारीकरणमा सहजीकरण जस्ता सहयोग प्राप्त भए कृषकलाई धेरै फाइदा पुग्ने सुझाव राख्नुहुन्छ । 

चीनको दक्षिण पूर्वी याङ्जे भ्यालीमा सबैभन्दा पहिले पाइएको किवी सन् १९४० देखि न्यूजिल्याण्डबाट व्यावसायिक खेती सुरु भएको राष्ट्रिय फलफूल विकास केन्द्रले उल्लेख गरेको छ । नेपालमा वि.सं. २०३६–३७ तिर स्वीसहरुद्वारा दोलखाको चरिकोट र जिरीमा सर्वप्रथम यो फल भित्र्याइएको इतिहास छ । अहिले नेपालको ४० भन्दा बढी जिल्लाहरूमा किवी फलको व्यावसायिक रूपमा उत्पादन भइरहेको छ । 

आर्थिक वर्ष २०७५÷७६ देखि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत किवी जोन कार्यक्रम इलाममा सञ्चालन भइरहेको छ । इलाम नगरपालिकाको वडा नं १, २, ३ र ४ त्यस्तै सन्दकपुर गाउँपालिकाको सबै वडामा सञ्चालित किवी जोन कार्यक्रम अन्तर्गत कृषकले खेती विस्तार, सिँचाई, उपकरण लगायतमा अनुदान सहयोग साथै तालिम र परामर्श सेवा प्रदान गरिँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई इलामका निमित्त प्रमुख राजाबाबु चौधरीले बताउनुभयो । 

कृषि प्राविधिकहरूका अनुसार समुन्द्री सतहबाट आठ सयदेखि दुई हजार मिटर सम्मको उचाइमा हुने किवी बगानको काँटछाँट पुस र माघ महिनामा गर्नुपर्छ । माघ महिनामा रोप्दा राम्रो हुने किवीको बिरुवा पाँच मिटर फरकको लाइनमा छ–छ मिटर फरकमा पाँच वटा पोथी बिरुवा बराबर एउटा भाले बिरुवा पर्ने गरी रोप्नु पर्दछ । यसलाई एक घन मिटरको खाल्डोमा माटो र प्राङ्गारिक मल मिसाएर रोप्दा अझ राम्रो हुन्छ । किवी खेतीमा पछिल्लो समयमा हात्तीपाइले, ढुसीजनय सङ्क्रमण, पात डढ्ने जस्ता रोग र फ्रुटफ्लाई जस्ता किराले कृषकलाई दुख दिइरहेको अवस्थामा त्यसको रोकथाम तथा नियन्त्रणको लागि कृषकहरूलाई सहयोग गरिरहेको कृषि ज्ञान केन्द्र इलामका प्रमुख रवि किरण अधिकारीको भनाई छ । 

वार्षिक चार हजार मेट्रिकटनभन्दा बढी किवी उत्पादन हुने इलाममा ६ सय भन्दा बढी कृषकले ८९२ हेक्टर क्षेत्रफलमा किवी खेती गरिरहेको कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्क छ । अन्य फलफूलको तुलनामा धेरै प्रकारका भिटामिन पाइने, मानव स्वास्थ्यका लागि लाभदायक र रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने किवी फल खेतीमा मन र मिहिनेत लगाउन सके इलामका अगुवा कृषक गङ्गा विष्ट जस्तै आनन्द र आर्थिक लाभ दुवै मिल्न सक्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button