तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा दुई समुदायबिच झडप

रौतहट। रौतहटको सदरमुकाम गौर नगरपालिकामा दुई फरक समुदायबिच झडप हुँदा केही सर्वसाधारण तथा प्रहरी घाइते भएका छन् ।

गौर नगरपालिका–६ सबगढामा बिहीबार हिन्दु समुदायको जन्तीमाथि मुस्लिम समुदायले ढुंगामुढा प्रहार गरेको आरोपपछि शुक्रवार स्थिति तनावग्रस्त बन्दै झडप भएको हो ।

स्थानीयका अनुसार बिहीबार भएको घटनाको विरोधमा शुक्रवार दुवै समुदायका युवाहरू आमनेसामने भएपछि विवाद चर्किएको थियो । स्थिति नियन्त्रण बाहिर जान सक्ने अवस्था देखिएपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

झडपका क्रममा केही सर्वसाधारण तथा दुई  सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जन्तीको विषयलाई लिएर दुवै पक्षबिच झडप भएको जानकारी दिनुभयो । “अहिले अवस्था सामान्य भएको छ,” उहाँले भन्नुभयो, “हामी दुवै पक्षलाई सम्झाउने प्रयास गरिरहेका छौँ ।”

उहाँले सर्वसाधारणलाई संयमित रहन तथा अफवाहमा नलाग्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button