तपाईँ सुन्दै हुनुहुन्छः

जावलाखेल युथ क्लब आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश 

पोखरा । जावलाखेल युथ क्लब २५ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (बिहीबार) भएको दोस्रो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबले पाहुना टोली उज्वेकिस्तानको आबा फुटबल क्लबलाई १-० को गोल अन्तरले पराजित गर्दै आयोजक सहारा क्लबसँग फाइनलमा यात्रा तय गरेको हो । 

जावलाखेलको जितमा विपक्षी टोली आबा फुटबल क्लबबाट उपहार गोल प्राप्त गरेको हो । जावलाखेलका धिरेन्द्र कुवंरले प्रहार गरेको क्रसवललाई पोष्टनजिकै रहेका आबाका डिफेन्स खेलाडी खुसन गनिजानोभले बचाउन खोज्दा छातीमा लागेर गोल हुन पुगेको थियो । 

खेलको ६५ औँ मिनेटमा जावलाखेलका युवराज ढकालले आबा फुटबल क्लबका सार्दोरबेक मातमुरातोभलाई मुखमा प्रहार गरेसँगै रेफ्रि प्रज्वल क्षेत्रीले रेर्ड कार्ड देखाउँदै मैदानबाट बाहिर पठाउनु भएको थियो । जावलाखेल १४ बर्ष पछि आहा रारामा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । खेलमा म्यान अफ दी म्याच जावलाखेलका जोखिदजोन राखिमोभ घोषित हुँदै नगद १० हजारको साथमा ट्रफी पुरस्कार प्राप्त गर्नु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष उज्वल रञ्जितले रेफ्रिलाई बल हस्तान्तरण गरी आजको खेलको शुभारम्भ गर्नु भएको हो ।

उज्वेकिस्तानका प्रशिक्षक लिन्डे डेभिड हेन्डरसनले सेमिफाइनल खेलमा राम्रो खेल प्रदर्शन गर्दा गर्दै पराजित हुनु परेको बताउनु भयो । जावलाखेलको दोस्रो हापको सुरुमै गोल भई रक्षात्मक(डिफेन्सिप) खेल्दा आफूहरूले पाएका केही अवसर सदुपयोग हुन नसकेको बताउनु भयो । नेपालमा हस्पिटालिटि निकै राम्रो भएको डेभिडले प्रशंसा गर्नुभयो । 

जावलाखेलका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले उज्वेकिस्तान विरुद्ध जित निकाल्न निकै कठिन भएको बताउनु भयो । शनिबार हुने फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने उहाँले जनाउनु भयो । खेलमा अनुशासन महत्व हुने हुँदा आफ्ना एक जना खेलाडीले रेडकार्ड पाएको विषयमा स्वभाविक भएको उहाँले उल्लेख गर्नुभयो । 

शनिबार दिउसो २ः०० बजे फाइनल खेलमा जावलाखेल विरुद्ध आयोजक सहारा क्लब बिच हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा विजेताले १४ लाख १ हजार र उपविजेताले भने ७ लाख १ हजार रुपैयाँको साथमा ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button