वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान सुरु

वीरगञ्ज ।वीरगंज महानगरपालिकाले लामखुट्टेको बढ्दो प्रकोप नियन्त्रण गर्न ‘पम्प स्प्रे’मार्फत विषादी छर्ने अभियान आजबाट सुरु गरेको छ ।
महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको सङ्क्रमण फैलिन नदिन यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।
चिसो मौसम अन्त्य हुँदै गर्मी सुरु भएसँगै लामखुट्टेको सङ्ख्या बढ्न थालेपछि नियन्त्रणात्मक उपाय स्वरूप विषादी छर्ने कार्य अघि बढाइएको उहाँले स्पष्ट गर्नुभयो ।
आज पहिलो दिन घण्टाघरदेखि पावर हाउस चोकसम्मको मुख्य नाला तथा पानी जमेको खाली स्थानहरूमा केन्द्रित गरिएको थियो ।
महानगर प्रमुखको निर्देशनमा बिहान १०ः०० बजेदेखि नै पम्पमा विषादीयुक्त घोल तयार गरी नाला तथा पानी जम्ने स्थानहरूमा छर्किने कार्य भइरहेको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरका ३२ वटै वडामा दैनिक रूपमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने कार्य सञ्चालन गरिने छ ।
वीरगंजमा चिसो र गर्मी मौसममा लामखुट्टेको अत्यधिक प्रकोप देखिने भएकाले महानगरले वर्षमा दुई पटक नियमित रूपमा विषादी छर्ने कार्य गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्