तपाईँ सुन्दै हुनुहुन्छः

लुम्नाङवासी भन्छन्– मतदान अघि उम्मेदवारको प्रतिबद्धता

दोलखा । दोलखाको दुर्गम लुम्नाङ (लप्ची) का स्थानीय यो पटकको निर्वाचनमा शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, टेलिफोन र तिब्बतको नाका खोल्ने प्रतिबद्धतासहित गाउँमै उम्मेदवार आउने प्रतीक्षामा रहेका छन् । 

“हामीले हरेक निर्वाचनमा उम्मेदवार नदेखी केही अगुवाको भनाइमा लागेर निश्चित राजनीतिक दललाई मतदान गर्‍यौ”, स्थानीय कुन्जु नोर्बु शेर्पाले भन्नुभयो– “यो पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने विकासका प्रतिबद्धतासहित उम्मेदवारहरू नै गाउँमा आउने प्रतीक्षामा छौँ ।”

“दोलखाको विगु गाउँपालिका वडा नम्बर–१ मा पर्ने लुम्नाङसम्म अहिले दुगड हाइड्रो पावरले सडक पुर्‍याएको छ । १३ घर र ७० जना मतदाता रहेको यो गाउँमा अझै पनि यातायात सञ्चालन हुन सकेको छैन । खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली र टेलिफोनको समस्या पनि उस्तै छ”– अर्का स्थानीय कर्मा शेर्पाले भन्नुभयो । 

“विगतमा जस्तो यो पटक लुम्नाङवासीले दुई– चार अगुवाको भनाइमा लागेर मतदान गर्ने पक्षमा छैनन् । उम्मेदवार नै गाउँमा पुगेर समस्याहरूबारे चासो दिने र विकासको प्रतिबद्धता व्यक्त गर्ने अपेक्षा हामीले गरेका छाँटै”– स्थानीय कर्मा शेर्पा भन्नुहुन्छ ।

यस अघिका निर्वाचनहरूमा गाउँमा उम्मेदवार नपुगे पनि लप्चीबाट ६ घण्टा पैदल लुम्नाङ (मतदान केन्द्र रहने गाउँ) झरेर स्थानीयले मतदान गर्दै आएका थिए । यो पटक भने चिसो मौसममा निर्वाचन भएकोले लप्चीका स्थानीय सडकले छोएको दोस्रो घर लुम्नाङमै रहेका छन् । लप्ची र लुम्नाङ दुवै ठाउँमा घर भएका उनीहरू कार्तिक– मङ्सिरतिर लप्चीबाट दोस्रो घर लुम्नाङ झर्ने र चैत्र लागेपछि मात्र लप्ची जाने गर्छन् ।

धार्मिक एवम् प्राकृतिक रूपमा निक्कै सम्भावना भएको लप्चीमा जडीबुटी र चौँरी पालन समेत हुने गरेको छ । आफ्ना उत्पादन सहज रूपमा तिब्बततर्फ लाने वातावरण बनाउन उताको नाका खोलिनुपर्ने उहाँहरूको माग छ । 

अहिले लामाबगरबाट ११ सय मिटरको सुरुङ मार्गसहित २४ किलोमिटर सडकले थाङसेमुसम्म जोडेको छ । यो निर्वाचनमा यातायात सञ्चालन हुनुपर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र टेलिफोन– इन्टरनेट जोडिनुपर्ने मागसहित उम्मेदवारको प्रतिबद्धता लिएर मात्र मतदान गर्ने लुम्नाङवासीको तयारी छ ।

“विगतका निर्वाचनहरूमा हामीले विकासको अपेक्षा सहित केही अगुवाले भनेको ठाउँमा मतदान गर्‍यौ, यो पटक भने स्वयम उम्मेदवारको उपस्थितिमा प्रतिबद्धता लिएर मात्र मतदान गर्छौँ”– स्थानीय कर्मा शेर्पाले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button