पूर्वराष्ट्रपति भण्डारीद्वारा प्रजातन्त्र दिवसको शुभकामना
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमा उहाँले फागुन ७ नेपाली जनताले निरङ्कुश शासनविरुद्ध गरेको संघर्ष सफल भएको ऐतिहासिक दिन भएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार यस दिनले लोकतन्त्र प्राप्तिका लागि गरिएको त्याग, बलिदान र लामो संघर्षको स्मरण गराउँछ तथा जनताको एकताबद्ध शक्तिबाट लोकतन्त्र, मानवअधिकार र राजनीतिक स्वतन्त्रता स्थापित गर्न सकिने सन्देश दिन्छ।
पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्था मात्र नभई व्यवहार र संस्कारका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले प्रत्याभूत गरेका अधिकार र दायित्वको सन्तुलित प्रयोगमार्फत लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने उहाँको भनाइ छ।
उहाँले फागुन २१ गते हुने आम निर्वाचनलाई निष्पक्ष, शान्त र विश्वसनीय बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो। साथै, राजनीतिक दलहरूले निर्वाचनलाई आत्मसमीक्षाको अवसरका रूपमा लिएर जनआकाङ्क्षा, विशेषगरी युवापुस्ताको अपेक्षा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
सन्देशको अन्त्यमा उहाँले राष्ट्रिय प्रजातन्त्र दिवसले देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।







प्रतिक्रिया राख्नुहोस्