उज्वेकिस्तानको आबा फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

पोखरा । उज्वेकिस्तानको आबा फुटबल क्लब २५ औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाको फुटबल मैदानमा आज (मङ्गलवार) भएको चौथो क्वाटरफाइनल खेलमा पाहुना टोली आबा फुटबल क्लबले प्लानिङ व्वाईज यूनाइटेडलाई १—० को झिनो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
उज्वेकिस्तानको आबा फुटबल क्लबले दोस्रो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबसँग यही फागुन ७ गते प्रतिस्पर्धा गर्ने भएको छ । आबा फुटबल क्लबको जितमा उमिदजोन करिलोभले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ५६ औँ मिनेटबाट करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बलले जाली चुमेको थियो । आजको खेलमा म्यान अफ दी म्याच घोषित हुँदै उमिदजोनले नगद १० हजार साथमा ट्रफी प्राप्त गर्नुभयो ।
पाएका केही अवसरलाई सदुपयोग गर्न नसके पछि प्लानिङ व्वाईज क्वाटरफाइनलबाटै यात्रा टुंगाउनु पर्यो । प्लानिङ व्वाईजका प्रशिक्षक पङ्कज शाहीले उज्वेकिस्तान जस्तो बलियो देश विरुद्ध आफूहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दा गर्दै पराजित हुन पुगेको बताउनु भयो । यता उज्वेकिस्तानको आबा फुटबल क्लबका प्रशिक्षक लिन्डे डेभिड हेन्डरसनले नेपालको चर्चित क्लब विरुद्ध आफूहरूले राम्रो प्रदर्शन गरेको बताउनु भयो । नेपालमा फुटबलको राम्रो विकास हुँदै गएकोमा खुसी व्यक्त गर्दै उहाँले सेमिफाइनलमा थप उत्कृष्ट फुटबल प्रदर्शन गर्ने जनाउनु भयो । मङ्गलवारको खेलको शुभारम्भ हिमश्री फुड्स प्रालिका निर्देशन एवं माछापुच्छ्रे बैङ्कका अध्यक्ष रोशन केसीले रेफ्रिलाई बल हस्तान्तरण गरी गर्नु भएको हो।
यसैबिच, भोलि (बुधवार) सेमिफाइनल खेल हुने भएको छ । समूह एकबाट आयोजक सहारा क्लब विरुद्ध पोखरेलीको प्रिय टिम मनाङ मर्स्याङ्दी क्लब बिच बुधवार दिउसो ३ः०० बजे पछि खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन भएको हो ।








प्रतिक्रिया राख्नुहोस्