तपाईँ सुन्दै हुनुहुन्छः

प्रचार प्रसारको समय सुरु भएसँगै मोरङमा चुनावी अभियान तीव्र

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि औपचारिक रुपमा प्रचार प्रसारको समय सुरु भएसँगै भएपछि मोरङ जिल्लामा निर्वाचनको माहोल तातिन थालेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचार प्रसारको समय सुरु भएपछि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मतदाताहरूलाई लक्षित  कोणसभा तथा घरदैलो गर्दै चुनावी अभियानलाई तीव्र बनाएका छन् । आफ्नो जित सुनिश्चित गर्न उम्मेदवारहरू विकास निर्माणको एजेन्डा लिएर जनताको घरदैलोमा पुग्न थालेका छन् । 

चुनावी चहलपहल बढेसँगै चोक चौराहा तथा गा टोलमा चुनावकै विषयमा चर्चा परिचर्चा हुन थालेको छ । यस पटकको निर्वाचनमा कुन उम्मेदवार र कुन पार्टीलाई मत दिने विषयमा गाउँ बस्तीका  चिया पसलहरूमा चुनावकै कुरा हुन थालेको छ  । फागुन २१ गते चुनाव हुने सुनिश्चित भएपछि मोरङ जिल्ला अहिले निर्वाचनमय भएको छ ।

६ वटा निर्वाचन क्षेत्र रहेको यो चुनावी सरगर्मी बढेसँगै मतदाता पनि आफ्नो क्षेत्रका उम्मेदवारसँग विकास निर्माणसँगै आफूहरूले भोगेका समस्याहरू राख्न व्यस्त छन् । मतदाताहरूले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी सडक तथा पूर्वाधार निर्माणका कुरालाई जोड दिएका छन् ।

धनपालथान गाउँपालिका–६ कदमाहाका मोहमद मुस्तकीले भोट माग्न आउने उम्मेदवारसँग स्थानीय लोहन्द्रा खोलाको तटबन्धलगायत बाटोघाटो पुल पुलेसो तथा स्वास्थ्य चौकी निर्माणका विषयमा कुरा राखेको बताउनुभयो ।  आफू किसान भएकाले सिँचाई, मल खाद तथा विबउ बिजनको सहज उपलब्धताका लागि उम्मेदवारसँग कुरा राखेको उहाँले बताउनुभयो । 

यसैगरी अर्का मतदाता मतदाता जयनारायण रायले आफ्नो गाउँ टोलमा अहिलेसम्म भोट माग्न उम्मेदवारहरू नआएको भन्नुहुँदै उम्मेदवार आएपछि गाउँको समस्याका बारेमा प्रष्ट कुरा राख्ने बताउनुभयो । मधेसी समुदायहरूको बसोबास रहेको आफ्नो गाउँमा बाटोघाटो पुल पुलेसो खानेपानी लगायत धेरै समस्या रहेकाले यो सबै कुराहरू उम्मेदवारसँग राख्ने तयारीमा आफूहरू रहेको उहाँको भनाई छ ।

एक महानगरपालिकासहित १७ स्थानीय तह रहेको मोरङ जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

७ लाख ८३ हजार ५० मतदाता रहेका मोरङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्रसहित १ सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button