रौतहट प्रहरीद्वारा माघमा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले गत माघ महिनामा सम्पादन गरेका गतिविधिहरू सार्वजनिक गर्दै अपराध नियन्त्रण, राजस्व सङ्कलन तथा समुदाय–प्रहरी सहकार्यमा उल्लेखनीय प्रगति भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस विज्ञप्तिअनुसार माघ महिनाभर ७७ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। तीमध्ये ज्यानसम्बन्धी सात, आत्महत्या आठ, चोरी दुई तथा सामाजिक अपराधका २३ मुद्दा रहेका छन्। बैङ्किङ कसुरका १७ मुद्दा दर्ता हुनु आर्थिक अपराधको चुनौती बढ्दो रहेको सङ्केतका रूपमा विश्लेषण गरिएको छ ।
चालु आर्थिक वर्षमा २८४ वटा साधारण उजुरी दर्ता भएकामा १७३ वटा फछ्र्यौट भइसकेका छन् भने १११ उजुरीमाथि कारबाही प्रक्रिया जारी रहेको जनाइएको छ। विभिन्न मुद्दामा संलग्न ४१ जना फरार प्रतिवादी पक्राउ गरिएको कार्यालयका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।
लागुऔषध नियन्त्रणतर्फ एक जनालाई पक्राउ गरी निजको साथबाट पाँच–पाँच सय पिस डाइजेपाम, फेनारगन र नुरफिन बरामद गरिएको प्रहरीले जनाएको छ। सीमावर्ती जिल्लाका रूपमा रौतहटमा अवैध भन्सार छली नियन्त्रणका लागि विशेष निगरानी बढाइएको बताइएको छ। माघ महिनामा ६२ लाख ८९ हजार ९३० रुपैयाँ बराबरका अवैध सामान तथा पाँच वटा सवारी साधन बरामद गरिएको डिएसपी बस्यालले बताउनुभयो।
राजस्व छलीतर्फ ६४ हजार ६५० रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिइएको छ भने प्राकृतिक स्रोत दोहनमा संलग्न दुई सवारी साधनलाई कारबाही गर्दै छ हजार रुपैयाँ जरिवाना गरिएको छ।
माघ महिनामा जिल्लाभरि ९२ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने ७४५ सवारी साधनलाई कारबाही गरी सात लाख ८२ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले बताउनुभयो। दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही रहेको प्रहरीको निष्कर्ष छ।
अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध, आत्महत्या तथा महिला हिंसाविरुद्ध ५६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। १२३ जना प्रहरी परिचालनमार्फत एक हजार २०८ जना लाभान्वित भएका छन्। विद्यालय केन्द्रित १५ कार्यक्रममार्फत आत्महत्या, साइबर अपराध तथा लैङ्गिक हिंसाविरुद्ध ६५७ विद्यार्थीलाई प्रशिक्षण प्रदान गरिएको जनाइएको छ।
सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा परोहा नगरपालिका–९ रामपुरखापमा उत्पन्न झडप नियन्त्रणका लागि २८३ जना प्रहरी परिचालन गरिएको थियो। स्थिति नियन्त्रणमा लिन ६८ राउन्ड ग्यास सेल प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ। साथै ११ वटा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन सफलतापूर्वक गरिएको प्रहरीले जनाएको छ।
सेवाग्राहीको गुनासो सुन्न क्युआर कोड प्रणाली लागू गरिएको तथा हराएका दुई मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ। कर्मचारीको मनोबल अभिवृद्धिका लागि “प्रहरी अफ द मन्थ” कार्यक्रमलाई निरन्तरता दिइएको जनाइएको छ।
“प्रो–एक्टिभ पोलिसिङ र सिमानामा २४ सै घण्टा गस्ती परिचालनमार्फत जिल्लाको शान्ति सुरक्षा मजबुत बनाएका छौँ,” प्रवक्ता बस्यालले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्