जलवायु परिवर्तनको असर: माघमै फुले लालीगुराँस(फोटो फिचर)
बाजुरा। हिमाली तथा पहाडी जिल्ला बाजुरामा यस वर्ष माघ महिनामै लालीगुराँस फुलेका छन्।

सामान्यतया फागुनको अन्त्यदेखि चैत महिनासम्म मात्र फुल्ने लालीगुराँस यस पटक असामयिक रूपमा माघमै फुल्न थालेपछि स्थानीयवासी अचम्मित बनेका छन्।
नेपालका पहाडी भेगमा फागुन–चैततिर मात्र फुल्ने लालीगुराँस यस वर्ष भने तापक्रम वृद्धि, वर्षा तथा हिमपातमा आएको कमीका कारण समयअघि नै फुल्न थालेको हो।
विशेष गरी बडिमालिका क्षेत्र, त्रिवेणी नगरपालिका तथा खप्तड छेडेदह गाउँपालिका आसपासका वन क्षेत्रमा अहिले नै लालीगुराँस ढकमक्क फुलेको दृश्य देख्न सकिन्छ। पहिला माघ महिनामा बाक्लो हिमपात हुने गरे पनि यस वर्ष हिमपात ढिला र न्यून मात्रामा भएको स्थानीयको भनाइ छ।

डिभिजन वन कार्यालय बाजुराका अनुसार यस वर्ष तापक्रम अपेक्षाकृत उच्च रहनु, वर्षा कम हुनु र हिमपातमा कमी आउनुका कारण वनस्पतिमा समयअघि नै कुसुम फुल्ने क्रम देखिएको हो।
जलवायु तथा वातावरण क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा तापक्रम क्रमशः बढ्दै जानु, वर्षाको समय र मात्रामा अस्थिरता आउनु तथा हिमाली क्षेत्रमा हिमपात घट्दै जानु जलवायु परिवर्तनका स्पष्ट सङ्केत हुन्। यसको प्रभाव हिमाली जिल्लाहरूमा झन् स्पष्ट रूपमा देखिन थालेको छ।

मौसम चक्रमा आएको असामान्यता, कृषि उत्पादनमा परेको असर र जैविक विविधतामा देखिएको परिवर्तनले दीर्घकालीन वातावरण संरक्षण तथा जलवायु अनुकूलनका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरूको भनाइ छ।







प्रतिक्रिया राख्नुहोस्