तपाईँ सुन्दै हुनुहुन्छः

गुम्बादेखि सदरमुकामसम्म: बाजुरामा मतपेटिकाको कठिन यात्रा

बाजुरा। बाजुराका उच्च हिमाली क्षेत्रका दुर्गम बस्तीमा निर्वाचन सामग्री ढुवानी अझै पनि चुनौतीपूर्ण बनेको छ।

जिल्लाका ७७ मतदान केन्द्रमध्ये १० वटा केन्द्र यातायात सुविधाको पहुँचबाहिर रहेकाले यसपटक पनि हेलिकोप्टरमार्फत मतपेटिका तथा मतदान सामग्री ढुवानी गर्ने तयारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार सुरक्षा निकायसहितको टोलीले गरेको स्थलगत अनुगमनबाट ती केन्द्रहरू अझै सडक सञ्जालसँग नजोडिएको पुष्टि भएको हो। उहाँका अनुसार हिमाली गाउँपालिका–३ स्थित हिमाल भक्ति मतदान केन्द्र भौगोलिक हिसाबले सबैभन्दा दुर्गम मतदान स्थलका रुपमा रहेको छ। स्थानीयका अनुसार मतदान केन्द्रसम्म पुग्न चार घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्ने अवस्था छ। हिमाली गाउँपालिका–३ का वडाध्यक्ष मङ्गल थापाका अनुसार सो केन्द्रमा ७३ जना मतदाता रहेका छन्। ती मतदाताका लागि गुम्बा क्षेत्रमै मतदान स्थल तोकिएको छ।

प्रजिअ निरौलाका अनुसार हिमाली र गौमुल गाउँपालिकाका अति दुर्गम केन्द्रमा हेलिकोप्टर प्रयोग गरि निर्वाचन सामग्री ढुवानी गरिने भएको हो।

अन्य स्थानमा भने सडक पुगेको नजिकसम्म सवारी साधनमार्फत सामग्री पुर्‍याएर त्यसपछि कडा सुरक्षासहित पैदल बोकाएर मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ। मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी सवारी साधन मार्फत सदरमुकाम मार्तडी ल्याइनेछ।

दुर्गम भौगोलिक अवस्था, सीमित पूर्वाधार र सुरक्षाको संवेदनशीलताका कारण हरेक निर्वाचनमा बाजुराका यी बस्तीमा सामग्री ढुवानी चुनौतीपूर्ण बन्ने गरेको छ। यद्यपि प्रशासनले मतदाताको मताधिकार सुनिश्चित गर्न आवश्यक सबै सुरक्षा तथा व्यवस्थापकीय तयारी पूरा गरिएको जनाएको छ।

हिमालको काखमा रहेको गुम्बादेखि सदरमुकामसम्मको यो कठिन यात्रा केवल मतपेटिका ढुवानीको प्रक्रिया मात्र होइन, दुर्गम क्षेत्रमा लोकतन्त्रको अभ्यास जोगाइराख्ने निरन्तर प्रयास पनि हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button