तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रहरी कार्यालय पर्सामा माघमा १०३ मुद्दा दर्ता 

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्सामा माघ महिनामा १०३ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जघन्य अपराधका २३, महिला, बालबालिका, ज्येष्ठ नागरिकका ६ र आर्थिक लेनदेनका १९ वटासमेत गरी १०३ वटा मुद्दा दर्ता भएको बताउनुभयो । माघ महिनामा ३ जना महिला सहित ७५ जना प्रतिवादी पक्राउ परेको उहाँले बताउनुभयो । 

माघ महिनामा नौजना महिला, तीन जना बालक, १७ जना बालिका र एक जना ज्येष्ठ नागरिक हराएको उजुरी परेको र त्यसमध्ये एक जना महिला, एक जना बालक, ६ जना बालिका र एकजना ज्येष्ठ नागरिक फेला परेका तथा २१ जना अहिलेसम्म हराएको अवस्थामा रहेको बस्नेतले बताउनुभयो । 

माघ मसान्तसम्म घरेलु हिंसाका ५४ वटा उजुरी परेकामा २९ वटा फर्छ्योट गरिएका र २५ वटा बाँकी रहेको बस्नेतले बताउनुभयो । उहाँले महिला झैझगडा, कुटपिटका ४१ वटा उजुरीमध्ये ३३ वटा फर्छ्योट भएका र ८ वटा बाँकी रहेको बताउनुभयो । 

जिल्लाका १४ पालिकामध्ये वीरगन्ज महानगरमा घरेलु हिंसाका ३९ र सामाजिक अपराधका ३६ वटा उजुरी रहेको र १८ वटा मात्र अन्य पालिकाको रहेको बस्नेतले बताउनुभयो ।

यसैगरी माघ महिनामा ३८४ किलो गाँजा, २५१ किलो चरेस, ३४६ ग्राम खैरो हेरोइन र ११हजार ६८ ट्याब्लेट नाइट्रोभेट बरामद भएको जानकारी दिँदै बस्नेतले एक महिनामा तीनजना विष सेवन र एकजनाले झुन्डिएर आत्महत्या गरेको तथ्याङ्क पर्सा प्रहरीमा रहेको जानकारी दिनुभयो । 

यसैगरी, माघ महिनामा ९८ वटा दुर्घटना भएको र दुई जनाको मृत्यु तथा १ सय २५ जना सामान्य घाइते भएको बस्नेतले बताउनुभयो ।

माघ महिनामा पर्सा प्रहरीले भन्सार छलीका कपडा, खाद्यान्न, औषधि, हार्डवेयर र सुपारी गरी रु ६ करोड २७ लाख २८ हजारको सामान बरामद गरेर सम्बन्धित निकायमा आवश्यक कारबाईको लागि चलान गरेको प्रवक्ता बस्नेतले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button