तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा आजदेखी मतदाता शिक्षा कार्यक्रम सञ्चालन

विराटनगर । फागुन–२१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मोरङमा  मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

मोरङको १७ वटै स्थानीय तहको १ सय ५९ वटै वडामा  मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै  आयोगले  मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा  ल्याएको हो । 

निर्वाचनमा हुने बदर मत  कम गर्ने उद्देश्यले मतदान गर्ने तरिका सिकाउन  मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको निर्वाचन कार्यालय मोरङका प्रमुख चोलाराज दंगालले बताउनुभयो । 

मतदाता शिक्षाका लागि प्रत्येक वडामा एकजना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक पालिकामा मतदाता शिक्षा सम्बन्धी एकजना फोकल पर्सन परिचालन गरिएको उहाँको भनाई छ ।

फागुन–१७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत खटिएका मतदाता स्वयंसेवकहरूले गाउटोल तथा मतदाताको घरदैलोमा  पुगेर नमुना मतपत्र मार्फत मत खसाउने तरिका सिकाउने छन् । 

रंगेली नगरपालिकाका मतदाता शिक्षा कार्यक्रमका फोकल परसन रोजिना कुवरले मतदाता शिक्षा स्वंयंसेवकहरुलाई तालिम मार्फत निर्वाचनमा  मत खसाउने तरिका सिकाउँदै आजदेखी पालिकाका सबै वर्डामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यो पटक समयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा आएकाले बदर मत कम हुने विश्वास आयोगको रहेको छ ।  मतदाता शिक्षा  कार्यान्वयनका लागि अनुगमन गरिनेसरि व्यवस्था मिलाइएको भएपनि विगतका निर्वाचनमा ग्रामीण क्षेत्रका गाउवस्तीमा भने मतदाता शिक्षा प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको थिएन ।

मोरङ कटहरी गाउँपालिका–४ का मतदाता मुकेश यादवले यस अघिको निर्वाचनमा  मतदाता शिक्षाका लागि खटिएका मतदाता शिक्षा स्वयंसेवक   गाउटोल सम्म नपुग्ने र पुगिहाले पनि मतदाताले वुझनेगरि मत खसाउने तरिका सिकाउन नसक्दा अशिक्षित मतदाताहरूलाई  समस्या भएकाले यस पटकको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने  बताउनुभयो । 

धनपालथान गाउँपालिका–६ दादरवैरियाका जयनारायण रायले,  उम्मेदवारका प्रतिनिधिहरू यस अघिको निर्वाचनमा मतदाता शिक्षाका लागि आउने गरेकोमा  यस पटक भने मतदाता शिक्षाका लागि अहिले सम्म आफ्नो  टोलमा  कोही नआएको बताउनुभयो ।

सोही वडाकी उमा पासवानले पनि मतदाता शिक्षा आवश्यक भएपनि मतदाता शिक्षाका लागि खटिएकाहरू  गाँउटोलमा कहिले आउँछन् भन्ने कुरा आफूहरूलाई थाहा नभएकाले मतदाता शिक्षाका लागि आउने कर्मचारीहरूले यस विषयमा जानकारी गराउनु पर्ने बताउनुभयो ।  

एक महानगरपालिका सहित १७ वटा स्थानीय तह रहेको मोरङ जिल्लमा ७ लाख ८३ हजार ५० मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  यो जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र सहित १ सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button