जेठाजुले गरे बुहारीको हत्या
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर–५ बन्देथलीमा सामान्य विवादमा जेठाजुले बुहारीको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा जेठाजु ६८ वर्षीय चन्द्र बहादुर थामीले बुहारी ५१ वर्षीय देउमाया थामीको हत्या गरेको प्रहरीले जनाएको छ ।
शनिवार दिउँसो ४ बजेतिर सामान्य घरायसी वादविवादमा जेठाजु चन्द्र बहादुरले देउमायालाई घरेलु हतियार खुकुरी र ढुङ्गाले टाउकोमा प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।
घट्नाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामा नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय सिंगटीको टोली घटना स्थल पुगी अभियुक्तको खोजी गरेको थियो ।
बुहारीको हत्या गरी फरार रहेका चन्द्र बहादुरलाई घटनास्थल भन्दा ४ किलोमिटर टाढा कालिञ्चोक गाउँपालिका वडा नम्बर– ६ लेप्टुङको अधेरी खोलाको खोल्साबाट प्रहरी निरीक्षक विष्णुहरि फुँयालको टोलीले शनिवार साँझ करिब ५ः३० बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चन्द्र बहादुरको साथबाट हत्यामा प्रयोग भएको खुकुरी समेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए ।
घट्नाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्