तपाईँ सुन्दै हुनुहुन्छः

महिला एसिया कप राइजिङ स्टार्स : पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली महिला एसिया कप राइजिङ स्टार्स २०२६ को पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।

थाइल्याण्डमा आज सुरु भएको राइजिङ स्टार्सको पहिलो खेलमा नेपाली टोलीले पाकिस्तानको ‘ए’ टोलीसँग ३० रनले गुमाएको हो । १ सय ३८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७ रन मात्र बनाउन सक्यो ।

ओपनर बिन्दु रावलले बनाएको टोलीका लागि सर्वाधिक ३९ रन बनाइन् । ४५ बलमा ८ चौका प्रहार गरेकी बिन्दु मोमिना रियासतको बलमा क्याच आउट हुन पुगिन्। कविता कुँवर १८ र सिता रानामगर १९ रनमा अविजित रहे । कप्तान पूजा महतो ११ रन बनाउँदा अनोसा नासिरको बलमा आउट भइन् ।

सम्झना खड्काले ६ रन बनाउँदा अख्तरबाट कट एण्ड बोल्ड भइन् । कविता जोशी शुन्य रनमा नै अनोसा नासिरको बलमा एलबिडब्लु धरापमा परिन् ।

पाकिस्तानी अनोसा नासिरले ३, मोमिना रियासतले २ र वाहिदा अख्तरले १ विकेट लिए ।

बैंककस्थित टे डथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । पाकिस्तान ए टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३७ रनको बनाएको थियो ।

नेपालले समूह चरणको दोस्रो खेल आइतबार युएईसँग र अन्तिम खेलमा मङ्गलवार भारत ‘ए’ सँग खेल्नेछ ।

एसिया कपमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणका खेलपछि शीर्ष स्थानमा रहने २ टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल २२ फेब्रुअरीमा हुनेछ । समूह बी मा आयोजक थाइल्यान्डसहित बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button