तपाईँ सुन्दै हुनुहुन्छः

अस्पताल नेपालका : बिरामी भारतीय 

वीरगञ्ज । वीरगञ्जका झण्डै आधा दर्जन आँखा अस्पतालहरूमा छिमेकी मुलुक भारतबाट दैनिक सयौँको सङ्ख्यामा आँखा रोगीहरू उपचारका लागि आउने गरेका छन् । 

नेपालका आँखा अस्पतालहरूमा आँखाको राम्रो उपचार हुने र सेवा पनि प्रभावकारी भएकाले भारतको बिहार, झारखण्ड, उत्तर प्रदेश र बङ्गाल राज्यबाट समेत ठुलो सङ्ख्यामा आँखाका रोगीहरू वीरगञ्ज आउने गरेको नेपाल नेत्र ज्योति संघका केन्द्रिय सदस्य श्याम पोख्रेलले बताउनुभयो । 

हाल वीरगञ्जको केडिया आँखा अस्पताल सहित दृष्टि आँखा अस्पताल, वीरगञ्ज सामुदायिक आँखा अस्पताल, किरण आँखा अस्पताल, माट्रिका सामुदायिक आँखा अस्पताल, लगायतका आधा दर्जन भन्दा बढी आँखा अस्पतालहरू रहेका छन् । ती आँखा अस्पतालहरूमा दैनिक सयौँको सङ्ख्यामा आँखा रोगीहरू भारतबाट आउने गरेको सामुदायिक आँखा अस्पताल वीरगञ्जका चिकित्सक महेश सिंह धामीले बताउनुभयो । 

वीरगञ्जका आँखा अस्पतालहरूमा गुणस्तरीय र सस्तो सेवाका कारण यहाँ भारतीय आँखाका बिरामीहरू उपचारका लागि आकर्षित भइरहेको दृष्टि आँखा अस्पतालका सञ्चालक विश्वराज गौतमले बताउनुभयो । 

सामुदायिक आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ महेश सिंह धामीका अनुसार  आर्थिक वर्ष ०८२/०८३ को ७ महिनाको अवधिमा सामुदायिक आँखा अस्पतालले २ हजार ३ सय ३४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको र १२ हजार ५ सय १३ जनालाई चश्मा वितरण गरेको जानकारी दिनुभयो । उहाँले अस्पतालमा सेवा लिने सबैलाई समान शुल्कमा विभेदविहीन सेवा दिइने हुँदा यस अस्पतालमा भारतीय बिरामीहरूको चाप बढेको बताउनुभयो । 

वीरगञ्जको केडिया आँखा अस्पतालमा मात्रै आँखा परीक्षण तथा उपचारका लागी भारतबाट दैनिक ३ सयदेखि ४ सय जना बिरामी आउने गरेको केडिया आँखा अस्पतालका सञ्चालक सञ्जय केडियाले जानकारी दिनुभयो । 

मोतियाविन्दुको शल्यक्रिया सहित आँखाका जटिल प्रकारका शल्यक्रिया समेत केडिया आँखा अस्पतालमा हुने गरेको छ । 

विशेषगरी आँखामा मासु पलाउने, नेत्र ज्योति समस्या, चश्मा प्रयोग गर्नुपर्ने लगायतका समस्या लिएर भारतबाट आँखा रोगी केडिया आँखा अस्पतालमा आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button