सल्यान कालीमाटीवासी बाँके निकुञ्जबाट आएका बाघको आतंकबाट त्रसित
सल्यान। बाँके राष्ट्रिय निकुञ्जबाट आएका बाघको आँतक बढ्दै जाँदा सल्यान कालीमाटी गाउँपालिकाका बासिन्दा त्रसित बनेका छन्। एक सातामा तीन जनाको बाघको आक्रमणबाट ज्यान गएपछि कालीमाटी गाउँपालिकाका वडा न ५,६ र ७ का वासिन्दा त्रसित बनेका हुन ।
बाघको आक्रमणबाट तीन जनाको ज्यान गएको एक महिना बितिसक्दा समेत बाघ नियन्त्रणमा नआएको र अझै पनि बाघ देखि रहेकाले घरबाहिर निस्कनै गाह्रो भइरहेको स्थानीयको गुनासो रहेको छ ।
कालीमाटी गाउँपालिका ७ की तिला रानाले आजभोली रातमा त के दिउँसो नै घरबाहिरको दैनिक कामकाज गर्न निकै डर लाग्ने गरेको बताउनुभयो। गाईवस्तुभाउलाई घाँस ल्याउन त घरनजिकै रहेको शौचालय जान पनि डराई डराई जानु पर्ने बाध्यता छ । उहाँले भन्नु भयो ।
घूइयाबारीकै गणपनि रानालाई पनि दैनिकी चलाउन निकै सकस परी रहेको छ । घर नजिकै रहेको जङ्गलमा जाऊँ नरभक्षी बाघ आएर आक्रमण गर्ला भन्ने डर नजाऊँ घरका बस्तुभाउ भोकै मर्लान् भन्ने पिर ।
मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीका स्थानीयले आफूहरू असुरक्षित बनेको भन्दै वन्यजन्तुबाट जोगाउने प्रभावकारी व्यवस्था गर्न माग गरेका छन् । सुरक्षा व्यवस्था गर्न नसकिने अवस्था आए मध्यवर्ती क्षेत्र खारेज गर्नु पर्ने मागसमेत उठाउन थालेका छन् । स्थानीयको समस्या समाधानका लागि सरकार संवेदनशील बन्नु पर्ने कालीमाटी गाउँपालिका ७ का वडाध्यक्ष मित्रलाल रिजालले बताउनुभयो । उहाँले निकुञ्ज क्षेत्र भित्र बसोबास गर्ने नागरिकको जीवन सुरक्षामा राज्यले जिम्मेवारी लिनु पर्ने भन्दै आवश्यक परे निकुञ्ज खारेज गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
हात्तिदमार घुइयावारी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष डम्बर पुनले बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएका बाघका कारण स्थानीय त्रसित भएर बाँच्नु परि रहेको बताउनु भयो । दीर्घकालीन समाधानका लागि निकुञ्जले बाघको सङ्ख्या व्यवस्थापन गर्नु पर्ने तथा वन्यजन्तु बाहिरिनुको कारणबारे अध्ययन गरी कानुनी व्यवस्था परिमार्जन गर्नु पर्ने उहाँको भनाई छ ।
यता डिभिजन वन कार्यालय सल्यानले बाघ नियन्त्रणका लागि टोली लागि परेको बताएको छ । अहिले पनि बाघ देखि रहेको र त्यसको ट्रयाकिङ गर्ने काम विज्ञ टोलीबाट भइरहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावलले बताउनु भयो । बाघको आक्रमणमा मृत्यु भएका परिवारलाई आवश्यक क्षतिपूर्ति दिनका लाग निर्देशनालयमा पत्राचार भइसकेको र निर्देशनालयले पैसा पठाउने बित्तिकै पीडित परिवारलाई वितरण गरिने उहाँको भनाई छ ।
। गत पुस २३ गते सुर्खेत भेरी गङ्गा नगरपालिका ५ गेरुवानीकी ५७ बर्सिया गङ्गादेवी सारुमगर, पुस २५ गते कालीमाटी गाउँपालिका ७ की ४२ बर्सिया धनसरी रावत र २८ गते कालीमाटी ६ हात्तिढुंगाका ६५ वर्षीय चन्द्र बहादुर खप्तडीको बाघको आक्रमणबाट ज्यान गएको थियो ।








प्रतिक्रिया राख्नुहोस्