कानुन र विधि निर्माणमा रहेका समस्या हल गर्न सांसदहरूको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले कानुन र विधि निर्माणमा रहेका समस्या हल गर्नेतर्फ समयमा नै ध्यान जानु जरुरी रहेको औँल्याउनुभएको छ ।
सांसदहरूले निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय सभामा ६ वर्षे कार्यकाल सम्पन्न गरी फागुन २० गतेबाट बिदा हुन लाग्नुभएका सांसद र प्रादेशिक सरोकारको समयमा सांसदहरूले २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा शान्ति सुरक्षालगायतको प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले मिलीजुली शासनको असफलताका कारण मुलुकमा समस्या उत्पन्न भइरहेको भन्दै स्थायी रूपमा सरकार सञ्चालन गर्ने परिस्थिति बनाउने गरी अगाडी बढ्नु आवश्यकता रहेको औँल्याउनुभयो ।
सांसदहरूले कृषि र खाद्यान्नको भण्डारको रूपमा रहेको मधेस प्रदेशमा कृषि उत्थान गर्ने गरी कृषि अनुसन्धान लगायतका कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरूले मधेस प्रदेशमा रहेको बेरोजगारी, गरिबी, बढी, डुबान, लैङ्गिक असमानता, छोरीचेलीको पढाई लगायतमा रहेको समस्या समाधानका लागि प्रभावकारी योजना ल्याउन माग गर्नुभयो ।
सांसदहरूले जेनजी आन्दोलनमा उठेका भ्रष्टाचार न्यूनीकरण, सुशासन लगायतका मुद्दाका विषयमा सबै गम्भीर बन्न सक्नुपर्ने बताउनुभयो ।
सांसदहरूले कर्णाली प्रदेशमा रहेको जडीबुटीको सदुपयोग, अपर कर्णाली आयोजना निर्माण, दैलेखमा देखिएको ग्यास उत्खनन लगायतका कामलाई प्रभावकारी बनाउन र स्थानीयमा रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको असर डरलाग्दो रूपमा देखा पर्न थालेको भन्दै सांसदहरूले निर्वाचनका लागि घोषणा पत्र लेखिरहेका राजनीतिक दलहरूलाई जलवायु परिवर्तनको विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
बैठकमा सांसदहरू माया प्रसाद शर्मा, सांसद उर्मिला अर्याल, दुर्गा कुमारी गुरुङ, सुमित्रा विसी, डा.अन्जान शाक्य, रेणु चन्द, विष्णुदेवी पुडासैनीलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्