तपाईँ सुन्दै हुनुहुन्छः

भयरहित, शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीको निर्देशन 

ताप्लेजुङ। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्ला ताप्लेजुङको निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ।

शुक्रवार बिहान ताप्लेजुङ पुग्नुभएका प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको निर्वाचन भयरहित, शान्तिपूर्ण, निष्पक्ष र धाँधली रहित ढङ्गबाट सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत तथा सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।  

जिल्ला सुरक्षा समिति र निर्वाचनमा खटिएका कर्मचारीहरूसँगको ‘ब्रिफिङ’मा प्रधानमन्त्री कार्कीले हिमाली र पहाडी जिल्लाको सबैको अवस्था समान खालको भएको बताउनुहुँदै मतदाताले कुनै पनि किसिमको डर, दबाब वा प्रभावबिना मतदान गर्न सक्ने वातावरण सिर्जना गर्न विशेष निर्देशन दिनुभएको हो । 

बिकट हिमाली भेगका मतदान केन्द्रहरूमा सुरक्षामा कुनै सम्झौता नगर्न र आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न समेत उहाँले निर्देशन दिनुभयो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान केन्द्रको भौतिक अवस्था तथा पहुँच सम्बन्धी विवरण प्रधानमन्त्री काकी समक्ष प्रस्तुत गर्नुभएको थियो । 

ताप्लेजुङमा जिल्लामा ८० मतदान स्थलमध्ये २८ वटालाई अति संवेदनशील,२५ वटालाई संवेदनशील र २७ वटालाई सामान्य सूचीमा राखिएको छ ।

यस अघि आज बिहान प्रधानमन्त्री कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभरा माताको पूजा अर्चना गर्नुभएको छ । पूजा अर्चना पछि प्रधानमन्त्री कार्कीले “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु”, सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button