तपाईँ सुन्दै हुनुहुन्छः

शक्ति र पद हुँदैमा जो कोही कानुनी जबाफदेहिताबाट मुक्त हुँदैन : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न सबै प्रकारका भ्रष्टाचारलाई निष्पक्ष र प्रभावकारी रूपमा छानबिनको दायरामा ल्याउन आवश्यक रहेको बताउनुभएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा पोखरा कार्यालयद्वारा बुधबार आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले शक्ति र पद हुँदैमा जो कोही कानुनी जबाफदेहिताबाट मुक्त नहुने र कानून सबैलाई बराबर हुने बताउनुभयो । राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकले आ–आफ्नो तहबाट जिम्मेवारी बोध गर्दै भ्रष्टाचार न्यूनीकरणमा सक्रिय भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रदेश प्रमुख भट्टले हालको परिवेशमा सेवा प्रवाहमा अपेक्षित सहजता अभाव देखिएको तथा विकास निर्माण प्रक्रियामा जनसहभागिता पर्याप्त नभएको उल्लेख गर्नुभयो । पूर्वाधार, शिक्षा, स्वास्थ्य, भूमि प्रशासन र कृषि क्षेत्रमा बढी गुनासो देखिएको बताउँदै उहाँले यी क्षेत्रलाई विशेष प्राथमिकतामा राखी सुधारका पहल आवश्यक रहेको धारणा राख्नुभयो ।

नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रही भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा आयोगले पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँले आगामी दिनमा आयोगले अझ प्रभावकारी, पारदर्शी र जिम्मेवार ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा कार्यालयका इन्जिनियर सौगात थापा र कम्प्युटर अपरेटर राजुप्रसाद रेग्मीलाई अख्तियार सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । उहाँहरूलाई प्रदेश प्रमुख भट्टसहित कार्यालय प्रमुख डा.नारायण प्रसाद रेग्मीले नगद २० हजारसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button