पिएसबीका कर्मचारीलाई सार्वजनिक खरिदसम्बन्धी तालिम सुरु

काठमाडौँ। सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारीहरूका लागि सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तीन दिने आधारभूत तालिम आजदेखि सिंहदरबारमा सुरु भएको छ ।


सार्वजनिक खरिद अनुगमन कार्यालयको सहकार्यमा सञ्चालित तालिममा रेडियो नेपाल र नेपाल टेलिभिजनका आर्थिक प्रशासन, व्यापार, प्रशासन र इन्जिनियरिङका गरी करिब ३५ जना कर्मचारी सहभागी छन् ।

तालिममा रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रादेशिक प्रसारण केन्द्रका प्रमुख तथा लेखा र प्रशासनका कर्मचारीहरू पनि भर्चुअल रूपमा सहभागी भएका छन् ।
तालिममा सार्वजनिक खरिदको कानुनी व्यवस्था, योजना, लागत अनुमान, खरिद प्रक्रिया, टेन्डर प्रक्रिया र दस्ताबेजको तयारी तथा सम्झौता व्यवस्थापन लगायत सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूले प्रशिक्षण दिनु हुनेछ ।

आधारभूत तालिमको शुभारम्भमा आज रेडियो नेपाल आर्थिक प्रशासन महाशाखाका प्रमुख मनोज चौधरी र रेडियो नेपाल तालिम शाखाका प्रमुख तारा प्रसाद वस्तीले तालिमबाट प्राप्त ज्ञानले सार्वजनिक सेवा प्रसारण नेपालको खरिद प्रक्रियालाई थप व्यवस्थित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
















प्रतिक्रिया राख्नुहोस्