तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य जाँचको लागि घर घरमा स्वास्थ्यकर्मी

बर्दिया । नसर्ने रोग नियन्त्रणका लागि बर्दियाको बाँसगढी नगरपालिकाले घर घरमा स्वास्थ्यकर्मी पठाएको छ । तीस वर्ष भन्दा माथिका नागरिकहरूको स्वास्थ्य चेकजाँचको लागि घर घरमा स्वास्थ्यकर्मी पठाएको हो ।

घर घरमा पुगेर स्वास्थ्यकर्मीको टोलीले रक्तचाप, मधुमेह, मृगौला रोग, मोटोपन लगाएतका समस्याहरू पत्ता लगाउने गरेका छन् । बिरामीको रगत र पिसाब चेकजाँच गरि समस्या पत्ता लगाउने गरिएको छ । सामान्य समस्या भएमा घरमै औषधी उपचार गर्ने र जटिल समस्या भएमा वा चिकित्सकको नै सल्लाह लिनुपर्ने देखिएमा नगर अस्पताल वा अरू अस्पतालमा रिफर गर्ने गरिएको छ । टोलको पायक पर्ने स्थानमा शिविर सञ्चालन गर्ने र आउन नसक्ने बिरामीको लागि घरमै गएर चेक जाँच गर्ने गरिएको स्वास्थ्यकर्मीले बताएको छन् । गत माघ १६ देखि सुरु गरिएको स्वास्थ्य परिक्षण एक महिना सम्म सञ्चालन हुने छ ।

सम्पूर्ण वडा सुरु गरिएको घरदैलो परिक्षण कार्यक्रममा हाल सम्म दुई हजार एक सय जनाको परिक्षण गरिसकिएको छ । जसमध्ये एक हजार एक सय २८ जनालाई विभिन्न समस्या देखिएको बाँसगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुलबहादुर विष्टले बताउनुभयो । उहाँले परिक्षण गरिएकामध्ये करिब ५३ प्रतिशतमा समस्या देखिएको बताउनुभयो । हालसम्म परिक्षण गरिएका मध्ये उच्च रक्तचाप भएका चार सय चार जना, मधुमेह भएका तीन सय ६० जना, पिसाब जाँच गर्दा मृगौलामा समस्या देखिएका एक सय ९४ जना र मोटोपनको समस्या देखिएका एक सय ७० जना फेला परेको उहाँले बताउनुभयो । तत्काल उपचार थप चेक जाँचको लागि बाँसगढी नगरपालिकामा आठ सय ४६ जनालाई रिफर गरिएको छ ।

नगरपालिको आन्तरिक श्रोतलाई परिचालन गरेर निःशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताउनुभयो । उहाँले पछिल्लो समयमा नसर्ने रोगको प्रकोप बढ्दै गएको हुनाले यसबाट बच्नका लागि समयमै रोगको बारेमा पत्ता लगाई उपचार सुरु गर्नका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button