तपाईँ सुन्दै हुनुहुन्छः

जनताका मन जित्ने गरी काम गर्नुपर्नेमा सभापति थापाको जोड

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले दृढ सङ्कल्प र नयाँ ऊर्जाका साथ नेपाली कांग्रेस निर्वाचनमा होमिएको बताउनुभएको छ ।

विराटनगरमा आज आयोजित कोशी प्रदेश स्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले बदलिएको काँग्रेसले अब जनताका मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले एकताबद्ध भएर निर्वाचनमा जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई उहाँले आग्रह गर्नुभयो ।

सभापति थापाले नेपाली काँग्रेसले फागुन–२ गते आफ्नो पार्टीको निर्वाचन सम्बन्धी प्रतिबद्धता सार्वजनिक गर्ने जानकारी दिनुभयो । उहाँले मुलुकको संविधान, सङ्घीयता  र लोकतन्त्रको रक्षाका लागि  विशेष परिस्थितिमा हुन लागेको निर्वाचन सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो ।

सो अवसर नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचारमुक्त समाज, सुशासन र रोजगारीको अवसर सृजना गर्नेतर्फ कांग्रेस लाग्नुपर्ने बताउनुभयो । 

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले रूपान्तर भएर आएको काँग्रेसले अव जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार, पूर्व मन्त्री ज्ञानेन्द्र कार्की, सह–महामन्त्री डा डिला संग्रौला, नेता भीष्म आङदम्वे, नेपाली कांग्रेस कोशी प्रदेशका अध्यक्ष उद्धव थापा लगायतले पार्टी एकतामा जोड दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button