तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा तीन हजार ८८१ किशोरीलाई एचपिभि खोप लगाइने

भक्तपुर । भक्तपुर जिल्लामा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने अभियान आजबाट सुरु भएको छ । 

आज सूर्यविनायक नगरपालिका–४  स्थित अरनिको माविबाट बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले खोप अभियानको शुभारम्भ गर्नुभयो । कार्यक्रममा स्वास्थ्यमन्त्री थापा मगरले किशोरीहरूको स्वास्थ्य सुरक्षा र उज्यालो भविष्यका लागि यो अभियान महत्वपूर्ण कदम भएको बताउनुभयो । मन्त्री थापा मगरले अभियान सफल बनाउन सबै सरोकारवालाप्रति आग्रह गर्नुभयो । 

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव एवं प्रसूति रोग विशेषज्ञ डा. सुमित्रा गौतमले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन चार जनाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको बताउँदै खोप अभियान सफल पार्न सरकारले अभियान सञ्चालन गरेको बताउनुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आजबाट जिल्लाका चारवटै नगरपालिकामा निःशुल्क एचपीभी खोप अभियान सुरु भएको कार्यालयका प्रमुख अञ्जना खड्काले जानकारी दिनुभयो । 

आजदेखि २६ गते देखि फागुन १ गतेसम्म सञ्चलन हुने खोप अभियानमा यस वर्ष ३५ वटा स्वास्थ्य संस्था एवं खोप केन्द्र र ८० वटा विद्यालयबाट भक्तपुरमा तीन हजार ८८१ जना किशोरीलाई खोप लगाइने उहाँले जानकारी दिनुभयो । जसमा कक्षा ६ मा अध्ययनरत तीन हजार ८४९ जना किशोरी, १० वर्ष उमेर समूहका १६३ जना र गत वर्ष खोप लगाउन छुट भएका ७ देखि १० वर्ष उमेर समूहका ३० जना किशोरीलाई खोप लगाइने भएको छ ।

अभियानमा सूर्यविनायक नगरपालिकाका ८८५ जना, १० वर्ष उमेर समूहका ७१ जना, कक्षा ७ देखि १० छाडेका विद्यार्थी ३० जना र ११–१४ वर्ष उमेर समूहका २० जना किशोरीलाई खोप लगाइने भएको छ । 

मध्यपुरथिमि नगरपालिकामा ९२१ जना, १० वर्ष उमेर समूहका २६ जना, भक्तपुर नगरपालिकामा एक हजार ५१५ जना र चाँगुनारायण नगरपालिकामा ५२९ जना, १० वर्ष उमेर समूहका ६६ जना किशोरीलाई खोप लगाइने भएको छ । 

जिल्ला १० वर्ष उमेर समूहका किशोरी १६३ जना र  कक्षा ७–१० का गत वर्ष खोप लगाउन छुटेका ३० जना तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका किशोरी २० जना किशोरीलाई अभियानमा खोप लगाइने छ । फागुन १ गतेसम्मको अभियानमा छुटेका किशोरीलाई फागुन ४ र ५ गते खोप केन्द्रमार्फत खोप लगाइने भएको छ । 

जिल्ला जनस्वास्थ्य केन्द्रकी प्रमुख खड्काले भक्तपुरमै अन्य जिल्लाका लागि पनि खोप भण्डारण केन्द्र रहेकाले सङ्कलित विवरण भन्दा बढी खोप लगाउनु पर्ने भएमा पनि खोप थप गर्न सहज हुने उहाँले बताउनुभयो । 

गत वर्ष छुटेका, इँट्टा भट्टादेखि विभिन्न क्षेत्रबाट आएका तथा विद्यालय बाहिर रहेका किशोरीहरूलाई समेत अभियानमै एचपिभि खोप दिन कार्यालयले व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button