२० औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि २१ देशका ३५ सय धावक सूचिकृत
पोखरा । पोखरामा फागुन २ गते शनिबार आयोजना हुने २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८२ को तयारी पूरा भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्न लागेको उक्त म्याराथन सहितको २१ वटा इभेन्टको लागि आवश्यक तयारी पूरा भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

यस वर्ष पोखरा म्याराथन अन्तर्गत ४२ किलोमिटरको म्याराथन, हाफ म्याराथन (२१ किलोमिटर) सहितका २१ वटा इभेन्टमा प्रतिस्पर्धा हुने गरी ३ हजार ५ सय ६ जना धावक सूचिकृत भएको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले बताउनुभयो । साथै ‘रन फर फन’ सहित करिब १० हजार जना शनिबार पोखरा म्याराथन दौडको अभियानमा सहभागी हुने भएको उहाँले जनाउनुभयो ।
खुल्ला म्याराथन ४२.१९५ किमी, राष्ट्रिय तथा प्रदेशस्तरीय म्याराथन, ४५ वर्ष माथिको म्याराथन, हाफ म्याराथन महिला–पुरुष, १० किमी दौड, विद्यालय स्तरीय ५ किमी दौड, भेट्रान्स, कर्पोरेट दौड तथा ‘रन फर फन’ समावेश गरिएको उहाँले जनाउनुभयो । प्रतियोगितामा अमेरिका, बेलायत, न्यूजिल्याण्ड, केन्या, नाइजेरिया, बेल्जियम लगायत विभिन्न देशबाट धावकहरूको सहभागिता रहने भएको मञ्चका सचिव महेश पौडेलले बताउनुभयो ।
यस वर्ष २१ वटा स्पर्धामा ७६ जना विजेतालाई कुल रु १९ लाख ९८ हजार नगद पुरस्कार वितरण गरिने भएको अध्यक्ष गुरुङले जनाउनुभयो । म्याराथनतर्फ प्रथम हुनेले रु ४ लाख, द्वितीयले रु २ लाख र तृतीयले रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । चौथोदेखि आठौँ स्थानसम्मका खेलाडीलाई पनि नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, दूरी पूरा गर्ने सबै खेलाडीलाई ३ हजार ७ सय फिनिसर मेडल प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले मञ्चको स्थापना २०५८ सालमा भई राष्ट्रको खेलकुद विकासमा योगदान पुर्याउने उद्देश्यका साथ क्रियाशील रहेको उल्लेख गर्दै पोखरा म्याराथनलाई सहरकै उत्सवका रूपमा विकास गर्दै आएको दाबी गर्नुभयो ।
हरेक वर्ष फागुनको पहिलो साताको शनिबार आयोजना हुँदै आएको पोखरा म्याराथन यस वर्ष फागुन २ गते (शनिबार) हुने भएको हो । यसै अवसरमा अन्तर्राष्ट्रिय म्याराथन धावक सन्तोषी श्रेष्ठ र धरान रनका संस्थापक सन्तोष राईले पोखरा म्याराथनले पोखराको खेलकुद पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनु भयो । उहाँहरूले यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताले पोखरालाई विश्व खेलकुद मानचित्रमा चिनाउन सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।
मञ्चले समावेशितालाई प्राथमिकतामा राख्दै हरेक वर्ष म्याराथन अघि नै ह्विलचियर र दृष्टिविहीन दौड सञ्चालन गर्दै आएको छ भने यस वर्षको उक्त कार्यक्रम माघ २४ गते गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्