चुनावी एजेन्डामा छुट्दै नछुट्ने, तर कहिल्यै स्तरोन्नति नहुने कर्णाली राजमार्ग
जुम्ला। साबिक कर्णालीका पाँच जिल्लाबाट ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभासदस्य निर्वाचनका लागि साबिक कर्णालीका जुम्लाबाट १० जना, डोल्पाबाट ९ जना, मुगुबाट ७ जना, कालिकोट १० जना र हुम्लाबाट ७ जना सहित ४३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

कर्णालीको जीवनरेखा: राजमार्गको अवस्था
चुनावी घोषणा पत्र सार्वजनिक नगरी मतदाता रिझाउन गाउँ–गाउँ पुगेका अधिकांश उम्मेदवारले कर्णालीवासीको जीवनरेखा मानिने कर्णाली राजमार्गको स्तरोन्नतिलाई प्रमुख एजेन्डा बनाएका छन्। २०६१ सालदेखि सञ्चालनमा आएको जुम्ला–सुर्खेत जोड्ने कर्णाली राजमार्ग तथा २०६९ सालदेखि सञ्चालनमा आएको रारा ताल जोड्ने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक अझैसम्म पनि स्तरोन्नति हुन सकेका छैनन्।
अघिल्लो निर्वाचनका वाचा र वास्तविकता
२०६४ को निर्वाचनमा नरेश भण्डारी,२०७० मा ललितजंग शाही, २०७४ मा गजेन्द्र बहादुर महत, २०७९ मा ज्ञानेन्द्र शाहीले जुम्लाबाट निर्वाचन जिते । कालिकोटका महेन्द्र बहादुर शाही २०७४ मा प्रदेशमा जितेर प्रथम मुख्यमन्त्री भए । २०७९ मा प्रतिनिधि सभा सदस्य पनि जिते । बितेका चार वटै निर्वाचनमा जुम्ला र कालिकोटका जितेका नेताहरूले कर्णाली राजमार्ग स्तरोन्नतिको विषयलाई विशेष प्राथमिकता दिएका थिए ।
तर कर्णाली राजमार्ग सञ्चालनमा आएको दुई दशक बढी समय बितिसक्दा पनि राजमार्ग पूर्ण रूपमा कालोपत्रे हुन सकेको छैन । अहिले पनि भगवान् भरोसामा यात्रा गर्न कर्णालीवासी बाध्य छन् । रारा जाने नाग्म–गमगडी सडक सुधार नहुँदा पर्यटकले सास्ती पाइरहेका छन् ।

फागुन २१ मा हुने निर्वाचनका लागि नेकपाका नरेश भण्डारी, राप्रपाका ज्ञानेन्द्र शाही दोहोरिने दाउमा चुनावी मैदानमा छन् । एमालेका शान्तिलाल महत, काँग्रेसका दीप बहादुर शाही, रास्वपाकी विनिता कठायत लगायत १० जना उम्मेदवार छन् । नेकपा एमालेको बाचा पत्रमा कर्णाली राजमार्गलाई दुई लेनको निर्माण गरेर कालोपत्रे गर्ने उल्लेख छ । सडक पूर्वाधार,विकासको आधार भन्ने नारा सहित कर्णाली राजमार्गलाई कम्तीमा दुई लेनको सडक द्रुतगतिमा स्तरोन्नति सहित वर्षेभरि सडक सञ्चालनको सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।
रास्वपाकी विनिता कठायतले जुम्ला सहित साबिक कर्णालीका चार जिल्लाको जीवन स्तर सुधार गर्न कर्णाली राजमार्ग स्तरोन्नति तथा वैकल्पिक राजमार्ग निर्माणमा जोड दिने बताएकी छन् । नेकपाका नरेश भण्डारीले पनि राजमार्ग सुधारको विषयलाई प्राथमिकता दिएका छन् । राप्रपाका ज्ञानेन्द्र शाही,प्रलोपाका मनऋषि धिताल, नेकपा (माओवादीका) विर्ख बहादुर शाही लगायतले पनि कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक सुधारमा जोड दिने बताएका छन् ।
तर उम्मेदवारहरूले भने जस्तो कर्णाली राजमार्ग सुधार हुनेमा जुम्लावासी विश्वस्त छैनन् । २०६४ देखी २०७९ सम्मका निर्वाचनमा उठेका उम्मेदवार र जितेका सांसदले राजमार्ग सुधार गर्ने बाचा नगरेका होइनन् । तर परिणाममुखी काम भने हुन सकेन ।
जुम्ला–सुर्खेत जोड्ने २३२ किमीको कर्णाली राजमार्ग, ९३ किमी दुरीको नाग्म–गमगडी सञ्चालन भएको दुई दशक बिते पनि अझै हिउँदमा धुलो र बर्खामा हिलो हुने गरेको छ ।
नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले दशकौँदेखि चुनावी एजेन्डा मात्रै बनाउने तर काम नगर्ने प्रवृत्तिको अन्त्य हुनु पर्नेमा जोड दिनुभयो । भगवान् भरोसामा यात्रा गर्नुपर्ने कर्णालीवासीको बाध्यतालाई र मजबुरीलाई चुनावी एजेन्डा बनाए पनि जितेर गएपछि कहिल्यै ध्यान नदिने प्रवृत्तिले राजमार्ग सुधारले गति लिन नसकेको उहाँको भनाई छ ।
२०७४ मा प्रदेश सभामा जितेका पदम रोकाया भौतिक पूर्वाधार मन्त्री हुँदा नाग्म–गमगडी सडकलाई २ वर्षमा कालोपत्रे गर्ने बाचा गरेका थिए । तर अहिलेसम्म ९३ किमी मध्य ६ किमी मात्रै कालोपत्रे भएको छ । चुनावी एजेन्डा बनाएर मत लिने पछि काम नगर्ने, जनताले सधैँ हिलो र धुलोको समस्या झेल्नु पर्ने समस्याको अन्त्य हुनु पर्नेमा समेत नागरिक अगुवा राज बहादुर महतले बताउनुभएको छ ।
यता सडक डिभिजन जुम्लाका प्रमुख श्रवण कुमार महताराले चालु आवकै असार सम्म राजमार्गमा नागरिकले महसुस हुने गरी सुधार गर्ने कार्य योजना तयार गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्