तपाईँ सुन्दै हुनुहुन्छः

आहा ! रारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक

पोखरा । पोखराको सहारा क्लबको आयोजनामा यही माघ २७ गते (मङ्गलवार) देखि सञ्चालन हुने आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को खेल तालिका सार्वजनिक गरिएको छ । पोखरा रंगशालाको फुटबल मैदानमा माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले पाहुना टोली हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने भएको क्लबले जनाएको छ ।

यही माघ २८ गते जाउलाखेल युथ क्लब विरुद्ध मच्छिन्द्र फुटबल क्लब बिच खेल हुने भएको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लब विरुद्ध मनाङ मर्स्याङ्दी क्लब बिच माघ २९ गते खेल हुने भएको छ । समूह ए तर्फ पुलिस, सहारा क्लब, हङकङको गोर्खा इन्टर नेश्नल क्लब, एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब र थन्डरबोल्ट नर्थ युनाइटेड रहेका छन् भने समूह बीमा चर्च वाइज, जाउलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, फ्रेण्डस क्लब, प्लानिङ ब्वाइज युनाइटेड, एभा एफसी, उज्बेकिस्तान रहेका छन् । प्रतियोगिताका सेमिफाइनल खेलहरू फागुन ६ र ७ गते सञ्चालन हुनेछन् भने फागुन ९ गते पोखरा रङ्गशालामा फाइनल खेल हुने भएको छ ।

खेल तालिका सार्वजनिक गर्दै सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले आहा ! रारा पोखरा गोल्डकपले पोखरालाई खेलकुद पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा चिनाउन ठूलो भूमिका खेलेको बताउनुभयो । त्यसैगरी प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले खेल मैदान, सुरक्षा, आवास र व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । २५ औँ संस्करणको रूपमा आयोजना हुन लागेको यस प्रतियोगितामा स्वदेशी तथा विदेशी चर्चित क्लबहरूको सहभागिताले दर्शकको उत्साह थप्ने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button