हात्तीको आक्रमणमा ६ वर्षीया बालिकाको मृत्यु, हजुरआमा घाइते

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ ढक्का चानदेवस्थित आरक्षपीडित शिविरमा जङ्गली हात्तीको आक्रमणबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ भने उहाँकी ५५ वर्षीया हजुरआमा घाइते हुनुभएको छ ।
गएराति करिब ०२:३० बजेको समयमा जङ्गली हात्ती शिविरभित्र प्रवेश गरी किसन सिंह साउदको घरमा आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट जोगिन घरबाट भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद र ६ वर्षीया छोरी रोजिना साउद घाइते हुनु भएको थियो ।

घटनाबारे स्थानीयले राति करिब ०३:३० बजेको समयमा प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय शंकरपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घाइते दुवै जनाको अवस्था गम्भीर रहेकाले टी एण्ड सी अस्पताल झलारीमा सामान्य उपचार पश्चात् थप उपचारका लागि धनगढी रिफर गरिएको थियो । उपचारकै क्रममा आज बिहान करिब ०६:१५ बजेको समयमा ६ वर्षीया रोजिना साउदको नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो । घाइते पार्वती साउदको धनगढीमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
रातिको समयमा आरक्षपीडित शिविरमा पुगेको उक्त हात्तीले किसन सिंह साउदको घरका साथै अम्मर बिष्टसहित अन्य बासिन्दाका घरहरूमा समेत क्षति पुर्याएको आरक्षपीडित सङ्घर्ष समितिका उपाध्यक्ष प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । शिविरका बासिन्दाहरू एकजुट भई ठूलो प्रयासपछि हात्तीलाई जङ्गलतर्फ धपाएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्