रौतहट–४ मा चुनावी सरगर्मी: पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा
रौतहट। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रौतहट निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। उम्मेदवारी दर्ता गराएका राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरूले मतदाता र कार्यकर्तासँग प्रत्यक्ष भेटघाटमा सक्रियता देखाएका छन्।
निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल ३७ जनाले मनोनयन दर्ता गराएका छन्। दलगत तर्फ १७ पुरुष उम्मेदवार छन् भने स्वतन्त्रतर्फ २० उम्मेदवारमा ७ महिला र १३ पुरुष रहेका छन्। क्षेत्र अन्तर्गत चन्द्रपुर, वृन्दावन, गढीमाई र गरुडा नगरपालिकाका वडा नम्बर १–५ तथा ९ सम्म फैलिएका ३० वडा छन् र १ लाख १० हजार ३ सय १४ मतदाता मतदानका लागि योग्य छन्।
नेपाली कांग्रेसबाट २०७४ र २०७९ को निर्वाचनमा लगातार विजयी भएका देवप्रसाद तिमल्सिना चौथोपटक उम्मेदवारी दिएका छन्। उहाँ शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अधुरा योजनाहरू पूरा गर्ने लक्ष्यसहित घरदैलो अभियानमा सक्रिय हुनुहुन्छ।
नेकपा एमालेबाट निर्वाचित रामकुमार भट्टराई पनि नेपाली कम्युनिस्ट पार्टीबाट तेस्रोपटक उम्मेदवार बनेका छन्। उनले मतदाता भेटघाटमा सक्रियता बढाउँदै जीतप्रति आशावादी देखिनुभएको छ। एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता भइसकेकाले चुनावी आधार थप बलियो भएको उहाँको दाबी छ।
अन्य प्रतिस्पर्धी उम्मेदवारमा नेकपा एमालेका रामजी साह, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, जनता समाजवादी पार्टीका राजकुमार दास, जनमत पार्टीका राम कल्याण पटेल र आम जनता पार्टीका ऋषि धमला रहेका छन्। आम जनता पार्टीका ऋषि धमला सामाजिक सञ्जालमार्फत सक्रिय प्रचार गर्दै भोट मागिरहेका छन्।
यस पटक रौतहट–४ मा प्रचार शैलीमा परिवर्तन देखिएको छ। धेरै उम्मेदवार सामाजिक सञ्जालमा केन्द्रित रहँदै मतदातासम्म पुग्ने प्रयासमा छन्। पुराना अनुभव भएका तिमल्सिना र भट्टराईसँगै नयाँ अनुहारहरूको प्रवेशले निर्वाचन रोचक बनाएको छ।
इतिहास हेर्दा यो क्षेत्रमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ। लगातार जित्दै आएको नेपाली कांग्रेसको पकड कायम राख्ने प्रयास र त्यसमा चुनौती दिने अन्य दलहरूको सक्रियताले रौतहट–४ को निर्वाचन थप रोमाञ्चक बनेको छ।








प्रतिक्रिया राख्नुहोस्