तपाईँ सुन्दै हुनुहुन्छः

अभिनेता थापाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुख ब्यक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । एक शोक वक्तव्य जारी गर्दै उहाँले नेपाली तथा भारतीय चलचित्र क्षेत्रले एक बहुआयामिक कलाकार र दरिलो खम्बा गुमाएको उल्लेख गर्नुभएको छ।

वक्तव्यमा ‘चिनो’ फिल्मका राते काइँलादेखि ‘मेरी कोम’मा प्रशिक्षकको भूमिकासम्म सुनिल थापाले निर्वाह गरेका खलनायक र सहनायकका पात्रहरूले करोडौँ दर्शकको मन जितेको स्मरण गरिएको छ। ती पात्रहरू दर्शकको स्मृतिमा सदैव जीवित रहने पनि उल्लेख छ।

चार दशकभन्दा बढी समयसम्म चलचित्र क्षेत्रमा सक्रिय रहँदै उहाँले गरेको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहने वक्तव्यमा भनिएको छ।

प्रधानमन्त्री कार्कीले यस दुःखद् घडीमा दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button