तपाईँ सुन्दै हुनुहुन्छः

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन,  समानुपातिकतर्फको बन्दसूचीमा २५ देखि ८० वर्षभन्दा माथि उमेरका उम्मेदवार पनि समावेश भएका छन् । निर्वाचन आयोगको बन्दसूचीमा समाविष्ट विवरणअनुसार युवामा महिला उम्मेदवार र प्रौढमा तुलनात्मक रूपमा पुरुष उम्मेदवार बढी रहेको देखिएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बन्दसूचीमा कूल तीन हजार १३५ उम्मेदवार रहेकामा महिला एक हजार ७७२ र पुरुष एक हजार ३६३ छन् । त्यसमा २५ देखि २९ उमेर समूहका महिला ११७ र पुरुष ५१ गरी १६८, ३० देखि ४० उमेर समूहका २०१ महिला र ८४ पुरुष गरी २८५, ३५ देखि ३९ उमेर समूहका २६८ महिला र १३३ पुरुष गरी ४०१, ४० देखि ४४ उमेर समूहका ३४१ महिला र १९४ पुरुष गरी ५३५ जना उम्मेदवार छन् । यसैगरी ४५ देखि ४९ उमेर समूहका महिला २९४ र पुरुष १६२ गरी ४५६, ५० देखि ५४ उमेर समूहका २२० महिला र १६६ पुरुष गरी ३८६, ५५ देखि ५९ उमेर समूहका १५५ महिला र २०० पुरुष गरी ३५५, ६० देखि ६४ उमेर समूहका १०३ महिला र १५८ पुरुष गरी २६१, ६५ देखि ६९ उमेर समूहका ४४ महिला र ११४ पुरुष गरी १५८, ७० देखि ७४ उमेर समूहका १९ महिला र ६७ पुरुष गरी ८६, ७५ देखि ७९ उमेर समूहका महिला नौ र पुरुष २३ गरी ३२ तथा ८० वर्ष माथिका एक महिला र ११ पुरुष गरी १२ उम्मेदवार बन्दसूचीमा समावेश छन् ।

समावेशी समूहका आधारमा आदिवासी जनजातितर्फ ९११, खसआर्यतर्फ ९४६, दलिततर्फ ४२५, थारुतर्फ २०३, मधेसीतर्फ ५०२, मुस्लिमतर्फ १४८ जना उम्मेदवार समावेश छन् ।

आयोगमा गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । तीमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीमाथि परेका उजुरीका आधारमा आयोगले ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको थियो । 

ती उम्मेदवारमध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५, आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १०, २५ वर्ष उमेर पूरा नभएका चार, मतदाता नामावलीमा नाम समावेश नभएका एक, मतदाता नामावली पिछडिएका क्षेत्रमा नरहेका दुई, महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका एक, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० र अन्य कारण भएका दुई जना उम्मेदवारको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ ।

सूचीअनुसार औसत प्रति निर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको सङ्ख्या ६० देखिएको छ । यस्तै, न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ । यसैगरी एकल चिह्न लिएका दलहरू १० रहेका छन् ।

निर्वाचनका लागि आयोगमा ९३ राजनीतिक दलले समानुपातिक प्रणालीमा उम्मेदवारी दिन आवेदन दिएकामा बन्दसूची पेस गर्ने भने ६३ दल मात्रै देखिएका छन् । ती दलमध्येबाट ५७ निर्वाचन चिह्न कायम गरिएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button