तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ–२ मा निर्वाचन सरगर्मी, मतदाताको जोड सुशासन र रोजगारीमा

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ उपत्यकामा पनि चुनावी चहलपहल बढेको छ । 

उपत्यकाका निर्वाचन क्षेत्रहरूमा उम्मेदवारहरू आ–आफ्ना योजना लिएर मतदातासमक्ष जान थालेका छन् । समय अगावै हुन लागेको यसपटकको निर्वाचनबाट आउने नेतृत्वले मूलकमा आवश्यक परिवर्तनका लागि आवाज उठाउने र त्यसैअनुरूप काम गर्न सक्ने हुनुपर्ने मतदाताहरूको अपेक्षा छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–२ का युवा मतदाता विनीता शर्मा आगामी निर्वाचनबाट आउने नेतृत्वले युवाहरूको परिवर्तनको चाहना र माग बुझ्न सक्नुपर्ने बताउनुहुन्छ। उहाँका अनुसार नयाँ नेतृत्वले मुलुकमा सुशासन कायम गर्दै रोजगारी सिर्जनामा विशेष ध्यान दिनु आवश्यक छ। उहाँ भन्नुहुन्छ,

“देशको वर्तमान अवस्थाका कारण हामीजस्ता धेरै युवाहरू दैनिक जसो विदेश पलायन हुन बाध्य भएका छौँ। यस प्रवृत्तिको अन्त्य गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सक्ने स्पष्ट योजनासहितको नेतृत्व आजको मुख्य आवश्यकता हो।”

यति बेला सहरदेखि गाउँका टोल टोलमा, सामान्य चिया पसलदेखि रेष्टुरेण्टसम्म सबैतिर निर्वाचनकै चर्चा चलिरहेको सुनिन्छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ त्यसैगरी शंखरापुर नगरपालिकाका एक देखि ९ नम्बर वडा समेटिएको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी जनसङ्ख्या रहेको छ । यस क्षेत्रमा यसपटकको निर्वाचनका लागि ८८ हजार ७ सय ८ जना मतदाता कायम भएका छन् । तीमध्ये महिला मतदाता ४५ हजार ३ सय १५ र पुरुष ४३ हजार ३ सय ९३ जना रहेका छन् ।

तीनै मतदाता मध्येका एक युवा मतदाता दीपक घिमिरे यो निर्वाचनबाट आउने नेतृत्वले आफ्ना क्षेत्रका लागि आवश्यक नीति तथा कानुन निर्माणका विषयमा संसदमा कुरा उठाउन सक्ने र जनताप्रति उत्तरदायी हुनुका साथै झुटा आश्वासन दिने नभई कार्यान्वयन गर्ने खालको हुनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,

“सबैभन्दा पहिले त यो निर्वाचन कुन हो र आउने नेतृत्वले गर्नुपर्ने काम के हो भन्ने बुझ्न जरुरी छ, त्यसका लागि मुलुकको आवश्यकता, युवाका मागलगायतलाई समेटेर अगाडी बढ्न सक्ने नेतृत्व आवश्यक छ ।”

काठमाडौँको निर्वाचन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४० वटा मतदानस्थलमा एक सय मतदान केन्द्र तोकिएको छ । यहाँबाट नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी लगायत १६ राजनीतिक दल र १२ जना स्वतन्त्र उम्मेदवार गरी कूल २८ उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये पुरुष उम्मेदवार २२ र महिला उम्मेदवारको सङ्ख्या ६ जना रहेको छ ।

प्रतिस्पर्धाबाट आउने उम्मेदवारले आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने, विकासमा जोड दिने, युवाका भावना समेट्ने र कुरामा भन्दा काममा विश्वास गर्ने व्यक्ति हुनुपर्ने बताउनुहुन्छ, क्षेत्र नम्बर २ का मतदाताद्धय तीनकुने निवासी गणेश पराजुली र पवन दाहाल ।उहाँहरू भन्नुहुन्छ,

“विगतमा नेताहरूले ठुला–ठुला आशाहरू मात्रै देखाए तर भनेजस्तो काम गरेनन्, त्यसैले परिवर्तित अवस्थामा हुन लागेको यो निर्वाचनबाट आउने अबको नेतृत्वले आशा देखाउने नभई कार्यान्वयन गरेर देखाउन सक्ने हुनुपर्दछ ।”

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-२ मा विगतका निर्वाचन हेर्दा २०४८ सालयता नेपाली काँग्रेसबाट दमननाथ ढुङ्गाना र दीपकप्रसाद कुइकेल, नेकपा एमालेबाट विद्यादेवी भण्डारी र माधव कुमार नेपाल, तत्कालीन नेकपा माओवादी केन्द्रबाट झक्कुप्रसाद सुवेदी र पछिल्लो पटक २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम निर्वाचित हुनुभएको थियो ।

यसपटक भने मुलुकमा जेनजी विद्रोह र त्यसपछि उत्पन्न परिस्थितका कारण २०८४ मा हुनुपर्ने निर्वाचन अहिले नै हुन लागेको हो, तसर्थ निर्वाचनबाट आउने नेतृत्वले देशमा सुशासन कायम, भ्रष्टाचार अन्त्य, रोजगारी सिर्जना लगायतका युवाका माग सम्बोधन गर्न जरुरी देखिन्छ ।

काठमाडौँ–२ मा निर्वाचन सरगर्मी, मतदाताको जोड सुशासन र रोजगारीमा (अडियाे रिपाेर्ट)

प्रतिक्रिया राख्नुहोस्

Back to top button