तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप देशभरि नै लगाउने भएको छ । 

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आगामी फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने बताउनुभयो । 

सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरीलाई सोही अभियानअन्तर्गत खोप लगाइने उहाँले बताउनुभयो । छात्रा र किशोरीलाई खोप आ–आफ्नो विद्यालय र स्वास्थ्य संस्थामा लगाइने र खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको प्रमुख डा गौतमले बताउनुभयो । 

“प्रादेशिक कार्यालयबाट जिल्ला कार्यालयमा खोप पुर्‍याइसकिएको छ”, प्रमुख डा गौतमले भन्नुभयो । सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई उक्त खोप लगाएको थियो । 

शाखा प्रमुख डा गौतमले खोप अभियानअन्तर्गत करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने बताउनुभयो । खोप यस पटक एचपिभि खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’को सहयोग प्राप्त भएको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button