काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
काठमाडौँ । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र स्वास्थ्यसम्बन्धी सुविधा सहज र सरल हुनुपर्छ”, काठमाडौँ क्षेत्र नं ४ का मतदाता स्नेहा दाहालले रासससँगको कुराकानीका क्रममा भन्नुभयो, “हामीले जिताउने जनप्रतिनिधिले यी विषयमा काम गर्नसक्ने हुनुपर्छ ।” दाहालका यी अपेक्षा अधिकांश मतदाताका अपेक्षासँग मिल्न सक्छन् । उम्मेदवारहरूले निर्धारण गर्दै गरेका कार्यसूचीमा पनि यी विषय पर्न थालेका छन् ।
मतदाताका अपेक्षा र उम्मेदवारका प्रतिबद्धतासँगै क्रमिक रुपमा चुनावी वातावरण बढ्दो छ । विगतदेखि नै राजनीतिक चर्चाकै केन्द्रमा रहँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं ४ काठमाडौँ महानगरपालिकाका चार वटा र बूढानीलकण्ठ नगरपालिकाको १२ वटा वडा समेटिएको छ । यस क्षेत्रमा अन्य क्षेत्रमा झैँ पुराना, नयाँ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच यस क्षेत्रमा हुने प्रतिस्पर्धा बहुआयामिक देखिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रबाट १८ राजनीतिक दल र १० स्वतन्त्र गरी २८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । गत दुई निर्वाचनमा नेपाली कांग्रेसका वर्तमान सभापति गगन थापाले विजय हासिल गरेको यो क्षेत्र यसपटक उहाँले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएकाले पनि चर्चाकै केन्द्रमा रहेको हो ।
त्यसो त परम्परागत ठूला दलकैबीचमा आफ्नै खालको प्रतिस्पर्धा छँदैछ । यस क्षेत्रमा यसपटक नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले गत निर्वाचनका प्रत्याशी डा राजन भट्टराईलाई नै उम्मेदवार खडा गरेको छ, भने नेपाली काँग्रेसले सभापति थापाको बिँडो थमाउने सोचका साथ नयाँ उम्मेदवार सचिन तिमल्सेनालाई उठाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पुकार बमलाई टिकट दिएको छ । उहाँ यसअघि काठमाडौँ निर्वाचन क्षेत्र नं ८ र १ बाट चुनाव लड्नुभएको थियो ।
त्यसबाहेक नेपाली कम्युनिष्ट पार्टीका इन्द्रकुमार भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका डा सुरेन्द्रराज भण्डारी, राष्ट्रिय जनमोर्चाका छविबहादुर खनाल, नेपाल मजदुर किसान पार्टीका आशालाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका चेतबहादुर आले, मङ्गोल नेशनल अर्गनाइजेसनका सीता तामाङ, मितेरी पार्टी नेपालका प्रेमकुमार राई, नेपालका लागि नेपाली पार्टीका श्यामकुमार भट्टराई खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीका दत्त बुढा, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टीका मुस्कान पौडेल, जय मातृभूमि पार्टीका राजन पुरी, श्रम संस्कृति पार्टीका बरुण अमात्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का करिष्मा खरेल, उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारी, जनादेश पार्टी नेपाल (एकल चुनाव चिन्ह) केम्शसिंह उम्मेदवार हुनुहुन्छ ।
यस्तै, स्वतन्त्रबाट मदनदेव आचार्य, पुजन गजुरेल, अर्चनशमशेर राणा, विनोदबाबु प्रधान, डा दीपेन्द्रकुमार काफ्ले, केदारबहादुर कार्की, मनोज अधिकारी, आशिष श्रेष्ठ, सञ्जीव दर्जी, देवराज पौडेल उम्मेदवार रहनुभएको छ । यहाँ कूल उम्मेदवारमध्ये दुई जना मात्र महिला रहेका छन् ।
काठमाडौँ महानगरपालिकाको वडा नं १ ७, ८ र ३० वडा तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्ने यस क्षेत्रमा कूल ७६ हजार १४१ मतदाता रहेका छन् । जातजातिगत आधारमा यस क्षेत्रमा मिश्रित जनसङ्ख्या रहेको छ ।
पेसागत रुपमा यस क्षेत्रमा मध्यम तथा बौद्धिक वर्ग, कर्मचारी, व्यवसायी र मजदुर वर्गको बसोबास रहेको छ । यस क्षेत्रमा नक्साल भगवती, कुमारीगाल, गौशाला, डिल्लीबजार, ज्ञानेश्वर, चपली, मण्डिखाटार, कपन, पैयाटारलगायत क्षेत्र पर्दछन् । यस क्षेत्रमा निर्वाचन आयोगबाट खटिनुभएका निर्वाचन अधिकृत कृष्णा भण्डारीका अनुसार यस क्षेत्रमा कूल ३३ मतदानस्थल र ८८ मतदान केन्द्र रहेका छन् ।
उहाँले उम्मेदवारी मनोनयनअघि निर्वाचनका लागि भाग लिन दर्ता कायम रहेका र त्यस क्षेत्रमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको र आफूहरूले सबै मतदानस्थलको अवलोकन गरी स्थानीय तह÷सुरक्षा निकायसँग आवश्यक समन्वय गरेको बताउनुभयो । निर्वाचन प्रचारप्रसारको घोषित समय ९फागुन ४ देखि १८० सम्म आउन बाँकी रहेकाले हाल क्षेत्रमा चुनावी सरगर्मी तीव्र भइनसकेको उहाँको भनाइ छ ।
काठमाडौँ उपत्यकाका सहरी निर्वाचन क्षेत्रमा प्रायः उस्तैउस्तै चुनावी मुद्दा र मतदाताका अपेक्षा देखिन्छन् । क्षेत्र नं ४ मा पनि एकीकृत सहरी विकास, सहरी व्यवस्थापन, सुकुम्वासी समस्या, नदी र सम्पदा सफाइ तथा संरक्षण, पार्किङ, ढल तथा खानेपानी व्यवस्थापन आदि यस क्षेत्रका मुख्य मुद्दा देखिन्छन् । कपनको बाढी नियन्त्रण, कालोपुल–गौरीघाट टनेल निर्माणका लागि सम्भाव्यता अध्ययन, गुह्येश्वरी–तिलगङ्गाको अवरुद्ध बाटो खोली यातायातलाई सहज बनाउने पनि उम्मेदवारका प्राथमिकता देखिन्छन् ।
प्रजातन्त्र पुनः स्थापनापछिको अवस्थालाई हेर्दा यस क्षेत्रमा सङ्घीय संसद्मा २०४८ सालमा एमालेका साहना प्रधान, २०५१ र २०५४ मा पद्मरत्न तुलाधर, २०५६ मा कांग्रेसका प्रेमलाल सिंह र २०६४ मा काँग्रेसकै सुप्रभा घिमिरे निर्वाचित हुनुभएको थियो ।
संवत् २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका गगनकुमार थापा विजय हासिल गर्नुभयो । पछिल्ला दुई प्रदेशसभा सदस्य निर्वाचनमा दुई÷दुई स्थान कांग्रेस र एमालेका उम्मेदवारले जितेका थिए । पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता थापाले २१ हजार ३०२ मतसहित एमालेका डा भट्टराईलाई पराजित गर्नुभएको थियो ।
समानुपातिकतर्फ गत २०७९ को निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसको ११ हजार ८०८, एमालेको १० हजार ५६० मत रहेको थियो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले नौ हजार ४०१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ८८१, तत्कालीन नेकपा ९एकीकृत समाजवादी० ले एक हजार ७१३ मत र तत्कालीन नेकपा (माओवादी केन्द्र)ले एक हजार ५६४ मत ल्याएको थियो ।
एमालेका डा भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको थियो । त्यसबेला तत्कालीन नेकपा (माओवादी केन्द्र) तथा हालको नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले काँग्रेससँग तालमेल गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका थिएनन् ।
विगतमा काँग्रेसले जितेको यस क्षेत्रमा हाल उक्त पार्टीबाट ठूला नेता नभए पनि युवा नेता उम्मेदवार रहेको र गगन थापाकै उत्तराधिकारीका रुपमा प्रस्तुत भएकाले आफूले पुनः जित्ने अपेक्षा लिएको छ । एमालेले विगतकै उम्मेदवारलाई पुनः प्रस्तुत गरेको, साङ्गठनिक स्थिरता र जनतामा परिवर्तनका चाहना हुने भएकाले आफ्नो पक्षमा परिणाम आउने विश्वास गरेको छ । सङ्गठनात्मक पकड बलियो नभए पनि नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले पनि आफूलाई सशक्त प्रतिस्पर्धीका रुपमा उभ्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले युवा उम्मेदवार अघि सारेको र राष्ट्रिय रुपमा आफ्नो पक्षमा माहोल देखिएकाले आफू बलियो भएको जिकिर गरेको छ ।
अहिलेसम्मको निर्वाचन परिणामको स्थितिलाई हेर्दा यिनै चार/पाँच उम्मेदवारले जनताको मत बढी पाउने देखिएको छ । अन्य साना दल र स्वतन्त्र उम्मेदवारले ठूला दलका कुन उम्मेदवारको कति मत काट्छन् भन्ने अहिले नै भन्न सकिने स्थिति छैन । समग्रमा यसपटक यहाँ मुख्य नेतृत्व परिवर्तन, नयाँ दलको उदय र स्वतन्त्र उम्मेदवारको सङ्ख्याले चुनावी समीकरण फरक हुनसक्ने सङ्केत देखिएको छ । स्थानीय मुद्दा, उम्मेदवारको व्यक्तिगत छवि र मतदातासँगको प्रत्यक्ष सम्पर्क नै जितको मुख्य आधार बन्ने ठानिएको छ ।
यस क्षेत्रका एमालेका उम्मेदवार एवं सो पार्टीका सचिव डा भट्टराईले राष्ट्रिय स्वाधीनता र समृद्धिको नीति, नेतृत्व र परिणामका आधारमा युवाको रोजाइमा आफ्नो पार्टी रहेको बताउनुभयो । उहाँले यसपटक मतदाता तहबाटै आफूलाई उम्मेदवार बन्न आग्रह आएकाले प्रतिस्पर्धामा उत्रिएकाले बताउँदै सङ्गठनात्मक आधारका कारण आफूहरूले विजय हासिल गर्ने बताउनुभयो । एमालेले यही माघ १० गते काठमाडौँ उपत्यकाकै निर्वाचन परिचालन कमिटी एकैसाथ घोषणा गरी प्रचार सुरु गरेको थियो । यस्तै अन्य दल र उम्मेदवारले पनि आफ्नो तयारीलाई अघि बढाएका छन् ।
काँग्रेसले यस क्षेत्रमा यही माघ १७ गते सभापति थापाकै उपस्थितिमा निर्वाचन परिचालनसम्बन्धी भेला आयोजना गरेर निर्वाचन प्रचारको थालनी गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार तिमल्सेनाले ‘युथ फर चेन्ज’ को नारा अघि सार्दै सभापति थापा सर्लाहीबाट उठेको सन्दर्भलाई थापाकै उत्तराधिकारीका रुपमा आफू आएको जिकिर गर्दै निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, यो कार्यशैली र नतिजा फेर्ने अवसर भएकाले सुशासन, प्रविधिमैत्री सेवा र जनउत्तरदायी राज्य प्रणाली आफ्ना मुख्य प्राथमिकता भएको बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्