निर्वाचनका क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ : गृहमन्त्री अर्याल

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको बताउनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसहितको टोलीले आज मतपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रको अवलोकन गरेपछि पत्रकारसँग कुरा गर्दै गृहमन्त्री अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतको भन्दा थप सुदृढ सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो ।
मन्त्री अर्यालले जनताले निर्धक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गरिने दाबी गर्दै अति संवेदनशील र संवेदनशील मानिएका क्षेत्रहरूमा पूर्व तयारीसहित विशेष सुरक्षा प्रबन्ध लागु गरिने बताउनुभयो ।
गृहमन्त्री अर्यालले मुलुकमा राजनीतिक हिंसा र द्वन्द्व बिस्तारै कम हुँदै गएकाले चुनावी वातावरण बन्दै गएको बताउनुभयो ।
तोकिएकै मितिमा निर्वाचन हुनेमा सबैलाई ढुक्क हुन आग्रह गर्दै प्रधानमन्त्रीले चुनावका क्रममा एक थोपा पनि रगत बग्न नदिने भनी गरेको प्रतिबद्धतालाई नै मूलमन्त्र बनाएर गृह मन्त्रालयले सुरक्षा योजना तयार पारेको गृहमन्त्री अर्यालले उल्लेख गर्नुभयो ।
गृहमन्त्री अर्यालले भदौ २३ र २४ गते मुलुक गम्भीर सङ्कटमा पुगेको क्षणलाई स्मरण गर्दै सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्