कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीप : आयोजक भद्रपुर र आसाम विजयी

भद्रपुर, झापा । झापाको सदरमुकाम भद्रपुरमा बुधवारदेखि सुरु कोशी पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपअन्तर्गत आज भएको दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लब विजयी भएको छ ।
जीएचसीए काठमाडौँलाई २३ रनले पराजित गर्दै भद्रपुरले महत्त्वपूर्ण २ अङ्क जोडेको छ ।
काठमाडौँको भने यो लगातार दोस्रो हार हो । हिजो बुधवार भएको पहिलो खेलमा काठमाडौँ भारतको आसामसँग पराजित भएको थियो । अङ्क विहीन रहेको काठमाडौँको सेमिफाइनल यात्रा कठिन बनेको छ ।
भद्रपुर क्रिकेट क्लबको आयोजनामा भद्रपुर–८स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा भद्रपुरले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । भद्रपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । जवाफमा काठमाडौँले ९ विकेट क्षतिमा ११८ रन मात्र बनाउन सक्यो ।
भद्रपुरका तर्फबाट ब्याटिङमा समिर कार्कीले सर्वाधिक ३२ रन बनाए भने बलिङतर्फ विपिनकुमार महतोले सर्वाधिक ३ विकेट लिए ।
काठमाडौँका तर्फबाट ब्याटिङमा क्रिस कार्कीले सर्वाधिक २२ रन बनाए भने चन्द्रकान्त पौडेल र रमेश साहले समान २ विकेट लिए । खेलको म्यान अफ द म्याज विजेता टिमका विपिनकुमार महतो भए । उनले ११ हजार नगद पुरस्कार प्राप्त गरे । उनलाई पुरस्कार सौजन्यदाता प्रभा ढकालले पुरस्कार प्रदान गर्नुभयो ।
यसअघि, आज भएको पहिलो खेलमा भारतको आसामले भारतकै क्रिकेट कोचिङ उपाधय नयाँ दिल्लीलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जीत निकालेको छ । योसँगै यस प्रतियोगितामा आसामको ४ अङ्क भएको छ । हिजो भएको उद्घाटन खेलमा आसामले काठमाडौँलाई पराजित गरेको थियो ।

टस जितेर पहिलो ब्याटिङ गरेको आसामले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२६ रनको मध्यम स्कोर बनाएको थियो । जवाफमा नयाँ दिल्ली १९.१ ओभरमा अलआउट हुँदै ११२ रनमा सीमित भयो ।
आसामका तर्फबाट अरुण सोनारले सर्वाधिक ३४ रन बनाए भने नयाँ दिल्लीका तर्फबाट सबाकरिमले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । यसैगरी, नयाँ दिल्लीका तर्फबाट इर्साद मलिकले सर्वाधिक ३० रन बनाए भने आसामका तर्फबाट अरुण सोनारले ३.१ ओभरमा १३ रन खर्चिएर ४ विकेट लिए ।
खेलमा सर्वाधिक व्यक्तिगत सर्वाधिक रन र सर्वाधिक विकेट लिने आसामका अरुण सोनार म्यान अफ म्याच भए । उनले ११ हजार नगद र ट्रफी प्राप्त गरे । उनलाई म्यान अफ द म्याच सौजन्यकर्ता प्रभा ढकालले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो ।
आजै दोस्रो खेल आयोजक भद्रपुर क्रिकेट क्लब र जीएचसीए काठमाडौँबीच सुरु भएको छ ।
हिजो बुधवार एक समारोहका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो ।
शुक्रवार आसाम र भद्रपुरबीच पहिलो र काठमाडौँ र नयाँ दिल्लीबीच दोस्रो खेल हुने आयोजक भद्रपुर क्रिकेट क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्