अज्ञात रोगले भेडा बाख्रा मर्न थालेपछि कृषकहरू चिन्तित

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका–१० र ११ वडाका विभिन्न बस्तीमा पछिल्लो एक महिनादेखि अज्ञात पशु रोगका कारण भेडा तथा बाख्रा मर्न थालेपछि पशुपालक कृषकहरू चिन्तित बनेका छन्।
विशेषगरी सोरुका दई, कोटवाडा, धैन, लोली, तलिवडा, हितवाडा, रोकयावाडा र कोट गाउँमा रोग तीव्र रूपमा फैलिएको हो।
यी वडाका अधिकांश स्थानीयको मुख्य पेशा भेडा तथा बाख्रापालन भएकाले रोग फैलिँदै जाँदा गोठालाहरू गम्भीर चिन्तामा परेका छन्। स्थानीय युवा तथा नेपाल किसान महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष रत्नलाल देवकोटाका अनुसार ती दुई वडामा करिब १ हजार ५ सयदेखि २ हजारसम्म भेडा र बाख्रा रहेका छन्। दैनिक रूपमा पशु मर्न थालेपछि गाउँमै त्रासको अवस्था सिर्जना भएको उहाँले बताउनु भयो।
संक्रमित पशुमा फोक्सोमा पिप जम्ने, शरीरभरि पानीका फोका देखिने, कपाल सुन्निने, दिसा गनाउने, दुब्लाउँदै जाने, खोकी लाग्ने र लुतो देखिने जस्ता लक्षण देखिएको गोठालाहरूले जानकारी दिनु भयो।
स्थानीय भेडा गोठाला रतन मल्लले आफ्ना ८० भेडामध्ये १० वटा मरेको जानकारी दिनु भयो। अर्का गोठाला पुन्न मल्लका अनुसार ६० भेडामध्ये ९ वटा भेडा रोगका कारण मरेका छन्। त्यस्तै बाख्रा गोठाला काईचन्द्र देवकोटाले आफ्ना १५० बाख्रामध्ये २० वटा बाख्रा मरेको जानकारी दिनु भयो।
यसैगरी प्रदीप प्याकुरेलका ४५ मध्ये १० वटा, परेडलाल जैसीका ५० मध्ये ६ वटा र कबे जैसीका ४० मध्ये ७ वटा बाख्रा मरेका छन्। स्थानीयका अनुसार १०० भन्दा बढी गोठालाहरू यस रोगबाट प्रभावित भएका छन्।
पशु मृत्युदर बढ्दै जाँदा गोठालाहरूको आर्थिक अवस्था थप सङ्कटमा परेको छ। भेडा–बाख्रापालनमै निर्भर किसानहरू परिवारको गुजारा र छोराछोरीको पढाइ कसरी निरन्तरता दिने भन्ने चिन्तामा परेका छन्। बाख्रा गोठाला देवीभक्त प्याकुरेलका अनुसार नजिकै कुनै पशु स्वास्थ्य कार्यालय नहुँदा सदरमुकाम पुग्न एक दिन लाग्ने गरेको छ। अहिलेसम्म रोगको कुनै परीक्षण नभएको र दिनदिनै पशु मरेर नष्ट भइरहेको उहाँले गुनासो गर्नु भयो।
यति ठूलो क्षति हुँदा पनि सोरु गाउँपालिकाको पशु स्वास्थ्य शाखा र जिल्ला पशु सेवा कार्यालयले समयमै ध्यान नदिएको भन्दै स्थानीयवासीले असन्तोष व्यक्त गरेका छन्। उनीहरूले तत्काल पशु चिकित्सकसहितको प्राविधिक टोली खटाई रोगको पहिचान, नियन्त्रण तथा पीडित किसानलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।
यसैबीच, सोरु गाउँपालिकाले बिहीबार बिहानै पशु प्राविधिकको टोली प्रभावित क्षेत्रमा खटाइसकेको सोरु गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाहीले जानकारी दिनु भयो। भेटनरी तथा पशु अस्पताल मुगुका प्रमुख भिमचन्द्र बुढाका अनुसार,
“सोरूमा भेडा तथा बाख्रा मरेको जानकारी आजै प्राप्त भएको छ। शुक्रबार बिहानै रोग प्रभावित स्थानमा आवश्यक औषधिसहित प्राविधिक टोली खटाइने र रोगको अनुसन्धान अघि बढाइने छ,” भनी उहाँले जानकारी दिनु भयो।









प्रतिक्रिया राख्नुहोस्