तपाईँ सुन्दै हुनुहुन्छः

‘ड्रेस कोर्ड’ लागु गर्ने कर्णाली प्रदेशमै पहिलो बन्यो डिभिजन वन कार्यालय दैलेख 

सुर्खेत । डिभिजन वन कार्यालय दैलेखले फिल्ड स्तरमा प्रयोग हुने पोशाक सम्बन्धि ड्रेस कोर्ड लागु गरेको छ । 

कुन कर्मचारी कुन निकाय वा सेवाको भनी छुट्याउन गाह्रो भएपछि कर्णाली प्रदेश सरकारले वन सेवाका कर्मचारीको पोशाक सम्बन्धि छुट्टै ड्रेस कोर्ड कार्यविधि २०८२ ल्याएको थियो । उक्त ड्रेस कोर्ड लागु गर्ने कर्णाली प्रदेशमै डिभिजन वन कार्यालय दैलेख पहिलो भएको हो । 

कार्यालयले दैलेख जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डे, निमित्त प्रमुख जिल्ला अधिकारी कैलास ठकुरातीको उपस्थितिमा ड्रेस कोर्ड कार्यान्वयनमा ल्याईएको डिभिजनल वन अधिकृत अमरप्रसाद साहले जानकारी दिनु भयो । उहाँले प्रदेश वन सेवाको चिन्ह (लोगो), व्याच, नाम प्लेटससहितको पोशाक वा ड्रेस कोर्ड लागु गरिएको बताउनु भयो । 

उहाँका अनुसार वन गस्ती, वन अपराध नियन्त्रण, समुदाय स्तरका कार्यक्रममा सहभागी हुँदा तथा फिल्डस्तरका कार्यालयमा कार्यरत रहँदा उक्त पोशाक (ड्रेस कोर्ड) प्रयोग गरिने छ । खरानी हरियो गाढा खैरो रङ्गको दबुैपट्टी गोजी भएको फुल सर्ट र हाफ सर्ट बनाइएको छ । त्यस्तै गाढा हरियो रङ्गको चौडा बेल्ट छड्के साइड पकेट र पछाडि एक पकेट भएको पाइन्ट छ भने गाढा हरियो रङ्गको पाइन्टकै रङ्गमा ४ वटा बटन र तीन वटा पकेट भएको कोट पनि प्रयोगमा ल्याई एको उहाँले जानकारी दिनु भयो ।  

यता कर्णाली प्रदेश वन निर्देशनालयका सूचना अधिकारी सूर्यप्रसाद शर्माले वन सेवाको एउटै पोसाक हुँदा कर्मचारीहरूको मनोबल र आत्मविश्वास बढ्ने मात्र नभई सङ्गठनको पहिचान विशिष्ट बन्ने बताउनु भयो । उहाँले पेसागत वा विभागीय पहिचान मात्र नभई सामाजिक प्रतिष्ठासँगै कार्य क्षमता अभिवृद्धिका लागि पनि पोशाक (ड्रेस कोर्ड) को महत्व रहेको जनाउनु भयो । 

उहाँका अनुसार प्रदेश सरकारले वन सेवाका कर्मचारीको फिल्ड स्तरमा प्रयोग हुने पोशाक सम्बन्धि ड्रेस कोर्ड कार्यविधि २०८२ कार्यान्वयनमा आएसँगै अब प्रदेशभरि लागु हुनेछ । डिभिजन वन कार्यालय दैलेखबाट शुरु भएको ड्रेस कोड छिट्टै अन्य जिल्लाहरूमा लागु गर्न लागिएको उहाँको भनाइ छ । 

वन सेवाका सबै कर्मचारीहरूले कार्यालयमा काम गर्दा निजामती सेवाको नियमित पोशाक प्रयोग गरेपनि समारोह तथा फिल्ड स्तर डियूटीमा ड्रेस कोड अनिवार्य लागु हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button