तपाईँ सुन्दै हुनुहुन्छः

चुनावी घोषणापत्र निर्माणमा दलहरू: नवयुवा पुस्ताका आवाजलाई सम्बोधन गर्ने !  

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन ।

 राजनीतिक दलहरू चुनावको तीव्र प्रचार प्रसारमा लागिसक्दा पनि घोषणापत्र भने सार्वजनिक गरिसकेका छैनन् । तर, दलहरू घोषण पत्र निर्माणको तयारीमा जुटेको दाबी गर्छन् । 

अघिल्लो चुनावमा लोकप्रिय नारा र महत्त्वाकाङ्क्षी सपना देखाएर ल्याइएका घोषणापत्र कार्यान्वयनमा आउन नसकेको भनेर आलोचना खेपिरहेका दलहरू यस पटक भने जनताको आकाङ्क्षा अनुसार कार्यान्वयनमुखी घोषणापत्र ल्याउने बताउँछन् । 

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि फेरिएको अवस्थामा दलहरूलाई युवा पुस्ताको मागअनुसार समयसापेक्ष घोषणापत्र ल्याउन चर्को दबाब पनि छ । 

निर्वाचनका लागि मनोनयन दर्ता गराएर आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भइरहेका उम्मेदवारहरूसँग मतदाताले चुनावी एजेन्डा माग्न थालेका छन् । 

प्रायः सबैजसो दलहरूले परिवर्तित अवस्थालाई प्रतिबिम्बित गर्दै जनआकाङ्क्षा, सुशासन र विकासलाई मुख्य एजेन्डा बनाउने गरी घोषणापत्र तयार गरिरहेको जनाएका छन् । 

नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले अर्थतन्त्रको विकास र जनताको चाहनालाई सँगसँगै राखेर अगाडि लैजाने गरी व्यावहारिक र कार्यान्वयनयोग्य घोषणापत्र ल्याइने जानकारी दिनुभयो । 

प्रशासनिक सुधार, सरकारी सेवाहरूलाई जनमैत्री बनाउने विषयमा जति पनि सुधारका क्षेत्रहरू छन्, त्यसमा दृढतापूर्वक लाग्ने र भ्रष्टाचारमुक्त देश, सुशासन र विकास, यी तीन वटालाई केन्द्रविन्दुमा राखेर जनताको अपेक्षा अनुसार कार्यान्वयन योग्य घोषणापत्र तयार गरिरहेको प्रवक्ता चालिसे बताउनुहुन्छ । 

नेकपा एमालेले यस पटक समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न आफू सरकारमा छँदा थालनी गरिएका कामहरू पुरा गर्ने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।  

संविधान, लोकतन्त्र, मानव अधिकार कानुनी शासन, दण्डहीनताको अन्त्यसँगै युवाहरूको भावना समेट्ने गरी पूर्वाधार विकास, मर्यादित रोजगारी सिर्जना गर्ने कुरामा विशेष प्राथमिकता दिएर घोषणा पत्र तयारी गरिरहेको नेकपा एमालेका प्रचार विभाग प्रमुख मनिबहादुर शाहीको भनाई छ । उहाँ भन्नुहुन्छ “युवाहरूको सहभागिता, पहुँच र सहकार्यलाई कसरी वृद्धि गर्न सकिन्छ भन्ने कुरामा विशेष प्राथमिकतामा लिएर घोषणापत्र लेखन कार्य अगाडि बढिरहेको छ । ”

विगतमा कार्यान्वयन गर्नै नसक्ने योजना ल्याएर काम नगरेको भन्ने आलोचना खेपिरहेका दलहरूले यस पटक भने पुरा गर्न सकिने र कार्यान्वयनमुखी एजेन्डा मात्रै ल्याउने तयारी गरिरहेको बताउँछन् । 

नेपाली कम्युनिस्ट पार्टीले मुलुकको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै युवा पुस्ताले उठाएका माग सुशासन, समृद्धि र भ्रष्टाचारमुक्त देश निर्माणलाई प्राथमिकतामा राखेर घोषणापत्र ल्याउने तयारी गरिरहेको नेता अग्निप्रसाद सापकोटा बताउनुहुन्छ । 

रोजगारीको सिर्जना, बेरोजगारीको अन्त्य, गरिबी हटाउने, जनताको जीवनस्तर उकास्ने र सामूहिक प्रगति तर्फ देशलाई लैजाने गरी सपना बाँड्ने भन्दा पनि व्यवहारिक र कार्यान्वयन गर्न सकिने खालको घोषणापत्र तयार भइरहेको नेता सापकोटाको भनाई छ । 

विगतदेखि नै राजतन्त्र, हिन्दु राष्ट्र, प्रदेश संरचनाको खारेजी लगायतका एजेन्डा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यस पटक पनि यिनै विषयहरूलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गरिरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ बताउनुहुन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि केही दिन भित्रै घोषणापत्र सार्वजनिक गर्ने गरी कामलाई तीव्रता दिएको जनाएको छ ।

मुख्य दलहरूबाहेक कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र मधेस केन्द्रित दलहरू पनि घोषणापत्र लेखनमा व्यस्त छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, राष्ट्रिय जनमोर्चा र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्ना घोषणापत्रहरू सार्वजनिक गरिसकेका छन् ।  दलहरूले अब छिट्टै घोषणापत्र सार्वजनिक गरेर एजेन्डा सहित चुनावी प्रचारमा उत्रिने योजना पनि बनाइरहेका छन् । 

यस पटकको चुनावमा मुलुकको आर्थिक विकासलाई केन्द्रमा राख्दै नव युवा पुस्ताले उठाउँदै आएको सुशासन, स्थिरता, रोजगारी जस्ता विषयहरूलाई दलहरूले घोषणा पत्रमा समेट्न सके परिवर्तित राजनीतिक सन्दर्भलाई सम्बोधन गरेको ठहरिने मतदाताहरूको अपेक्षा छ ।

चुनावी घोषणापत्र निर्माणमा दलहरू: नवयुवा पुस्ताका आवाजलाई सम्बोधन गर्ने ! अडियो रिपोर्ट 

प्रतिक्रिया राख्नुहोस्

Back to top button