बाँकेमा अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र तोकियो
बाँके। आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय बाँकेले अस्थायी मतदाताका लागि तीनवटा मतदान केन्द्र तोकेको छ ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नौवस्ता कारागार, निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बाँके कारागार तथा कर्मचारीका लागि नेपालगञ्जस्थित रामलीला मैदानमा अस्थायी मतदान केन्द्र कायम गरिएको हो ।
अस्थायी मतदाता नामावलीमा सङ्घ तथा प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार एवं प्रदेश सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सुरक्षा निकायका सदस्य, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी तथा वृद्धाआश्रममा बसोबास गर्ने व्यक्तिहरू समावेश छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बाँकेमा कुल दुई हजार ३३८ जना अस्थायी मतदाता रहेका छन् । अस्थायी मतदाताले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले निर्वाचन व्यवस्थापनका लागि दुई हजार ४१५ जना कर्मचारी सिफारिस गर्ने निर्णय गरेको छ । निर्वाचनलाई निष्पक्ष, सुरक्षित र प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालनमा जोड दिइएको प्रशासनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्