तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन प्रचारप्रसारका गतिविधिमा सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै एमालेको आपत्ति

काठमाडौँ । नेकपा एमालेले निर्वाचन प्रचारप्रसारका गतिविधिमा सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै आपत्ति जनाएको छ । 

नेकपा एमालेले विभिन्न दल, नेतृत्व तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गरी भ्रम सिर्जना गर्ने कार्य भएको भन्दै यस्ता कदम चाल्ने कलाकार तथा जो कोही व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भ्रम सिर्जना गर्न कलाकारहरू तथा प्रविधिको दुरुपयोग भएको र पार्टी नेतृत्व तथा नीतिमाथि आक्रमण गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको सचेत उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

फागुन २१ को चुनावका लागि १६३ क्षेत्रमा पार्टीको उम्मेदवारी दर्ता भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

यसैबिच नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले एमाले पार्टीलाई कमजोर पार्ने गतिविधि गरिएको बताउनुभएको छ ।

नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा आज आयोजित  पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष बादलले जेनजी आन्दोलनको आवरणमा नेकपा एमाले र तत्कालीन सरकारलाई अपध्वस्त गर्ने प्रायोजित घटना घटाइएको बताउनुभयो ।

उपाध्यक्ष बादलले पुराना पार्टीहरूलाई विस्थापित गर्ने मिसनका साथ यो सरकार गठन भएको पनि आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button