अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट : सनलाइट मावि क्वार्टर फाइनलमा
वीरगञ्ज । प्याब्सन पर्साको आयोजनामा वीरगन्जमा जारी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत आज सम्पन्न खेलहरूमा सनलाइट माध्यमिक विद्यालय क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने सेन्ट जेभियर्स र मुनलाइट माध्यमिक विद्यालय सेमिफाइनलमा पुगेका छन् ।

प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अल्पाईन माविले भिजिबिलिटी कम भएका कारण ११ ओभरमा सीमित खेलमा ९ विकेटको क्षतिमा ३६ रन मात्र बनायो । जवाफमा सनलाइट माविले ३७ रनको लक्ष्य १ विकेटको नोक्सानीमा ४.२ ओभरमै पूरा गर्दै ९ विकेटले जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनायो ।
त्यसैगरी दोस्रो खेलमा सेन्ट जेभियर्स मावि र गौतम मावि भिडेका थिए । टस जितेर ब्याटिङ रोजेको सेन्ट जेभियर्सले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै ६६ रन बनायो । जवाफमा गौतम माविले ८ विकेट खर्चिएर ६२ रनमै सीमित भएपछि सेन्ट जेभियर्स मावि ४ रनले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आजकै तेस्रो खेलमा मनकामना मावि र मुनलाइट मावि बीच प्रतिस्पर्धा भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको मनकामना माविले १५ ओभरमा ९ विकेटको क्षतिमा ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुनलाइट माविले १४.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि ५ विकेटको जितसहित मुनलाइटले सेमिफाइनल यात्रा तय गरेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार माघ २१ गते बाँकी दुई क्वार्टर फाइनल खेलहरू हुनेछन् । जसमा वीरगन्ज एकेडेमी र गोल्डेन फ्युचर तथा डीएभी र सनलाइट माविबिच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्