तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा साढे ८ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै

नेपालगञ्ज । बाँकेमा साढे ८ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइँदै छ । आठ वटै पालिकाका ८ हजार ५ सय ८४ जनालाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । ती मध्ये विद्यालयमा अध्ययनरत छात्रा ६ हजार ५ सय ३१ र विद्यालय नजाने किशोरी २०५३ जना छन् । यही माघ २५ गतेदेखि फागुन ४ गतेसम्म एचपीभी खोप लगाउन लागिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताउनुभयो ।

यो खोपले एचपीभी प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्दछ । स्वास्थ्य कार्यालय बाँकका प्रमुख सुनिता पौडेलका अनुसार एचपीभी खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी देखिएको छ । यो खोप १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीलाई १ मात्रा दिनुपर्दछ । कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू गत वर्ष सञ्चालित एचपीभी खोपको लागि निर्धारित लक्षित समूहका छात्रा किशोरीहरूमध्ये यो खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० मा अध्ययनरत छात्राहरू र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरू लक्षित समूह हुन् । आज सम्पन्न जिल्ला खोप समन्वय समितिको बैठकले खोप अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरेको छ । 

जिल्ला खोप समन्वय समिति अध्यक्ष एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्री, भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तथा परिवार कल्याण महाशाखाको प्रमुखमा वरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसी लगायत जिल्ला खोप समन्वय समितिका सदस्यहरु तथा सरोकारवालाको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button