तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र सेवामा समर्पित, अनुशासित, नैतिकवान् युवाहरू नै राष्ट्रका मेरुदण्ड हुन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र सेवामा समर्पित, अनुशासित, नैतिकवान् चरित्रवान् युवाहरू नै राष्ट्रका मेरुदण्ड भएको बताउनुभएको छ ।

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा आज प्रधानमन्त्री कार्कीले युवालाई अनुशासित, मर्यादित, आफ्नो देश, भेषभूषा, संस्कृति र इतिहासलाई माया गर्ने संस्कारयुक्त नागरिक बनाउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले राष्ट्रमा विपद्को अवस्थामा उद्धार, राहत लगायत कार्यमा देशैभर परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक तयार गर्नु तालिमको उद्देश्य रहेको बताउनुभयो ।

भूकम्प, बाढीपहिरो, आगलागीजस्ता विपद्मा उद्धार, राहत र सेवा कार्यमा स्वैच्छिक रूपमा सहभागी भई समाजको भरोसा बन्न तालिमका सहभागीहरूलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री कार्कीले तालिमले नेपालको भूगोल, विविध भाषा, संस्कृति, परम्परा तथा इतिहासलाई एउटै छानामुनि बसी बुझ्ने र अनुभव आदानप्रदान गर्ने मौका प्रदान गरेकाले यसले नेतृत्वकला, सामूहिकता र राष्ट्रिय एकताको भावनालाई थप मजबुत गराउने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले हालसम्म करिब ९० हजार युवाहरू एनसीसी तालिम प्राप्त गरी दीक्षित भएको भन्दै आगामी वर्षहरूमा सङ्ख्या थप गरी यसलाई अझै विस्तार गर्दै युवा पुस्ताको चौतर्फी विकासमा हरसम्भव सहयोग गर्न सरकार कटिबद्ध रहने बताउनुभयो ।

राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरूप हरेक वर्ष क्याडेट छात्र छात्राहरूको सङ्ख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरूमा समेत तालिम सञ्चालन गरिरहेको छ । 

यस आर्थिक वर्षमा देशभरका २ सय ५७ वटा विद्यालयहरूबाट ७ हजार ७ सय १० जनालाई तालिम प्रदान गरिएको छ । 

जस अन्तरगत सिनियर डिभिजनतर्फ १ हजार ८० जना र जुनियर डिभिजनतर्फ ६ हजार ६ सय ३० जना क्याडेट छात्र/छात्राहरू यस वर्ष दीक्षित हुन लागेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button