तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा ‘सञ्चार संवाद’को औपचारिक सुरुआत

बाँके। स्वतन्त्र, उत्तरदायी र पेशागत पत्रकारिताको अभ्यास सुदृढ बनाउने उद्देश्यसहित नेपालगन्जमा ‘सञ्चार संवाद’ले आफ्नो औपचारिक यात्रा सुरु गरेको छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले एक समारोहबीच सञ्चार संवादको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहले नेपालगन्जको पत्रकारिता क्षेत्रमा नयाँ उत्साह र सम्भावनाको सन्देश दिएको सहभागीहरूले बताएका छन् ।

प्रमुख अतिथि डा. आचार्यले पत्रकारिता मर्म र आचारसंहिताभित्र रहेर काम गरे पत्रकारले कुनै समस्या भोग्न नपर्ने स्पष्ट पार्नुभयो । आफू नेपालगन्जकै भएकाले आफ्नै कर्मभूमिमा बोलाएर कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै उहाँले सञ्चार संवाद परिवारप्रति धन्यवाद दिनुभयो । समुदायसँग घुलमिल भएर गरिने जिम्मेवार पत्रकारिताले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उहाँले निष्पक्ष र मर्यादित पत्रकारिताको अभ्यास गर्न शुभेच्छा व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष सुक्रऋषि चौलागाईंले पत्रकारिताको विश्वास र विश्वसनीयता आचारसंहिताबाटै निर्माण हुने बताउनुभयो । तथ्य, सन्तुलन र सत्यमा आधारित पत्रकारितामा जोड दिँदै उहाँले पत्रकारले स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै सञ्चार संवादका अध्यक्ष डा. डक्ट प्रसाद धितालले सञ्चार संवाद मुनाफारहित, स्वतन्त्र र गैरदलीय संस्था भएको स्पष्ट पार्नुभयो । संवाद, सहकार्य र चेतनाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित संस्था अघि बढ्ने उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्व अध्यक्ष निरज गौतमले सञ्चार संवादको स्थापना नेपालगन्जको पत्रकारितामा नयाँ र सकारात्मक अध्याय भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालकी उप–प्रशासकीय प्रमुख सबिता ढकाल, नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरेसहित दर्जनौँ पत्रकार तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button